राप्तीसोनारीबाट ४६ को स्वाब संकलन कार्य जारी, हतोत्साहित नहुन अध्यक्षको आग्रह

114
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रियमा माबिको क्वारेन्टिनमा रहेकाको स्वाब संकलन गरिँदै ।

खड्क खत्री
बाँके (अगैया), जेठ ८–

राप्तीसोनारी गाउँपालिकाबाट ४६ जनाको स्वाब संकलन भइरहेको छ । वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिमा रहेका ६६ जनामध्ये ४६ जनाको स्वाब संकलन कार्य जारी रहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

उक्त क्वारेन्टाइनमा वडा नम्बर ७ का वडाध्यक्ष पनि जेठ ४ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । गत वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो । उक्त घटनापछि आफूलाई पनि कोरोनाले संक्रमण गरेको हुनसक्ने भन्दै वडाध्यक्ष रामलखन आइतबार साँझदेखि क्वारेन्टाइनमा बस्दै आएको जानकारी अध्यक्ष थारुले दिए । अध्यक्ष थारुले भने,‘गत वैशाख ३० गते मृतक युवासँगै आएका अन्य ९ जनाको उद्धार गरेर वडाध्यक्षज्यूले वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्रिय माबिको क्वारेन्टाइनमा राख्नु भएको थियो । मृतक युवकको सम्पर्कमा वडाध्यक्षज्यु आउनु भएकाले आफैं क्वारेन्टाइनमा बस्नु भएको हो ।’

अहिले ४६ जनाको स्वाब संकलन कार्य जारी रहेको बताउँदै गाउँपालिकाका स्वास्थ्य प्रमुख विष्णुप्रसाद चुँडालीले अन्य २० जनाको तीन दिन पछाडि स्वाब संकलन हुने जानकारी दिए । प्रमुख चुडाँलीका अनुसार स्वाब संकलन गर्दा चाहिने भिटिएन किट अभाव भएकाले अहिलेलाई ४६ जनाको स्वाब मात्र संकलन गर्न थालिएको हो ।

स्वाब संकलन कार्यलाई निरन्तरता दिइने बताउँदै प्रमुख चुँडालीले भने,‘जिल्ला जनस्वास्थ्य कार्यालयसँग १५० भिटिएन किट मगाएका थियौं । कार्यालयबाट ४६ वटा किट उपलब्ध गराएको छ । केही दिनमा गाउँपालिका भरमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्याको आधारमा किट उपलब्ध हुने जानकारी आएको छ । त्यसैले स्वाब संकलन कार्यले निरन्तरता पाउँछ ।’

नरैनापुरमा मृत्यु भएका व्यक्तिको सम्पर्कमा आएकाको पहिले स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए । स्वाब संकलन कार्य अब निरन्तर रुपमा जारी हुने भएकाले क्वारेन्टाइनमा रहेकालाई नआत्तिन अध्यक्ष थारुले आग्रह गरे । क्वारेन्टिनमा बसेको लामो समय भइसक्दा पनि स्वाब संकलन नभएकाले नैरैनापुरका मृतक युवासँग सम्पर्कमा आएका व्यक्तिहरु हत्तोत्साहित भएका थिए । स्वाब संकलनसँगै आत्मविश्वास बढेको क्वारेन्टिनमा रहेकाले बताएका छन् ।

Womui
Womui