बाँकेको राप्तीसोनारीले गर्‍यो यस्तो निर्णय

142
राप्तीसोनारी गाउँपालिकामा बसेको बोर्ड बैठक ।

खड्क खत्री
अगैया, जेठ ६-
बाँकेमा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि राप्तीसोनारी गाउँपालिकाले लकडाउनलाई कडा पार्दै विभिन्न निर्णय गरेको छ । गाउँपालिकाले गाउँमा हुने सामाजिक, संस्कृतिक, विवाह पूजा जस्ता जमघट नगर्न अनुरोध गरेको छ ।  पारिवारिक सदस्य मिलेर गरिने कृषि कर्मबाहेक अनावश्यक आवतजावत र भिडभाड नगर्न गाउँपालिका अध्यक्ष लाहुराम थारुले आग्रह गरेका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका कार्यपालिकाको बोर्ड बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थारुले यस्तो बताएका हुन् ।

अध्यक्ष थारुका अनुसार कोरोना सम्बन्धी मात्रै काममा प्रयोग हुने गरी २४ सैं घण्टाका लागि एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ । गाउँपालिकादेखि जिल्लास्थित आइसोलेसन वार्डमा पुग्न घण्टौं समय लाग्ने भएकाले संघीय र प्रदेश सरकारसँग समन्वय गरेर प्रत्येक वडामा १० शैय्या दरले १०० बेडको आइसोलेसन निर्माण गरिनेसमेत अध्यक्ष थारुले बताए ।

त्यस्तै सरकारी कामबाहेक वडाको पासबिना कुनै पनि सवारीसाधन चलाउन नपाइने, एक वडाबाट अर्को वडामा जाँदा सम्बन्धित वडाको अनुमति चाहिने, गाउँपालिकामा रहेका बैंक पनि समय र दिन मिलाएर मात्र खोल्न पाउने निर्णय बोर्ड बैठकले गरेको अध्यक्ष थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि औषधी पसल र डेरीबाहेक सबै पसल, होटल बन्द हुनेछन् ।

एक करोड भित्र रहेर आगामी आवका लागि योजना तथा कार्यक्रम सबै वडाले तयार गरी पठाउने, कामकाजलाई बाधा पार्ने गरी पदाधिकारी तथा कर्मचारीले सवारी साधनको प्रयोग गर्न नपाउने र सवारी साधन प्रयोग गर्दा मिव्ययीता र संघीय कानुनको पालना गर्ने/गराउने, गाउँपालिकामा रहेका क्वारेन्टाइनको क्षमता तथा गुणस्तर सुधार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम सबै वडामा बराबर छनोट भएका योजनामा कार्यान्वयन गर्ने, शिक्षा सम्बन्धमा दुइ कोठे पक्की भवनमा बनाउनेलगायतका निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । अधिकृत बस्नेतका अनुसार रिजवान इन्जिनियरिङको म्याद थप गरी बैंक ग्यारेन्टीबापतको रकम जमानतबापत राखेर भुक्तानी दिने र श्रीकृष्ण प्रणामी समाजलाई एक थान कम्प्युटर दिने निर्णयसमेत बैठकले गरेको जानकारी दिए ।

Womui
Womui