राहत सामग्री खरिदमा बाँकेको डुडुवाले जोगायो लाखौं रुपैयाँ

136

रमण ओली
नेपालगन्ज, वैशाख २१

बाँकेको डुडुवा गाउँपालिकाले राहत सामग्री खरिदमा लाखौं रुपैयाँ जोगाएको छ । कोरोना प्रभावित गाउँपालिकावासीलाई राहत वितरणका लागि करिब १५ लाख रुपैयाँको खाद्यान्न  सामग्री खरिद गर्दै गाउँपालिकाले लाखौं रुपैयाँ जोगाएको हो ।  हालसम्म १४ लाख ७७ हजार ४ सय ८० रुपैयाँ बराबरको राहत सामग्री खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए ।

लकडाउन हुनु अगावै १५ दिने टेण्डर आह्वान गरेर राहत सामग्री खरिद गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए । ८ लाख ३० हजार रुपैयाँ हालेर गाउँपालिकाले २ सय क्वीन्टल चामल खरिद गरेको थियो । हाल ५ हजार रुपैयाँ प्रति क्वीन्टल बजारमूल्य पर्ने उक्त चामललाई ४ हजार १ सय ५० रुपैयाँमा गाउँपालिकाले खरिद गरेको हो । त्यस्तै ३ लाख १७ हजार २ सय रुपैयाँको २६ क्वीन्टल मसुरोको दाल खरिद गरेको छ । जसलाई गाउँपालिकाले प्रतिक्वीन्टल १२ हजार २ सय रुपैयाँ हालेको छ भने अहिले मसुरोको बजार मूल्य १ सय ४० रुपैयाँ रहेको छ । २ लाख ९० हजार २ सय ८० रुपैयाँमा सनफ्लावर तेल खरिद गरेकोमा प्रति लिटर १ सय ४५ रुपैयाँ १४ पैसा तिर्दै २ हजार लिटर खानेतेल खरिद गरेको थियो । जुन सनफ्लावर खानेतेलको बजार मूल्य १ सय ८० रुपैयाँ प्रतिलिटर छ । त्यस्तै २० रुपैयाँ प्रतिकेजीका दरले ४० हजार रुपैयाँमा २ हजार केजी आयोडिनयुक्त नुन खरिद गरेको प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

पहिलो चरणको खाद्यान्न वितरण सकिएपछि मात्रै दोस्रो चरणको राहत खरिद गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकासँग अहिलेसम्म १० लाख ७२ हजार ५२० रुपैयाँ कोषमा जम्मा रहेको छ भने संघीय सरकारले १० लाख उपलब्ध गराउने प्रतिबद्धता गरेको प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।

१८ सय घरधुरीलाई गाउँपालिकाले राहत वितरण गर्ने लक्ष्य राखेको थियो । देसमा लकडाउन लम्बिँदै गएकाले गाउँपालिकाका करिब ६ सय घरपरिवारका लागि राहत सामग्री पुनः खरिद गर्नु पर्ने अवस्था आएको प्रशासकीय अधिकृत उपाध्याय बताए ।

गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा प्रदेश सरकारको १० लाख रुपैयाँ, स्याक बाँकेले १० हजार, बागेश्वरी असल शासन क्लबले १० हजार, केशवराज वर्माले व्यक्तिगत ११ हजार रुपैयाँ र बीग्रुपले ११ हजार रुपैयाँ सहयोग गरेका छन् भने गाउँपालिकामा कार्यरत कर्मचारीले तीन दिनको हुन आउने रकम ३ लाख ३९ हजार १ सय ६६ रुपैयाँ सहयोग गरेका थिए ।

Womui
Womui