‘अहिले फुट्ने नभइ जुट्ने समय हो’

224

नरेन्द्र चौधरी डडुवा गाउँपालिकाको अध्यक्ष मात्र नभएर प्रत्येक गाउँपालिकावासीका प्रिय व्यक्तिका रुपमा परिचित छन् । गाउँवासीको हरेक दुःख सुखमा सहभागिता जनाउने उनी कुनै पनि काम एक्लैले गर्नु भन्दा सबै मिलेर गरे पारदर्शी र राम्रो हुने कुरामा विश्वास राख्दछन् । देसमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिने क्रममा छ । यस्तो अवस्थामा कोरोना भाइरसबाट लड्न र बच्नका लागि सम्पूर्ण देसवासी एकजुट भएर हिँड्नु पर्ने धारणा राख्दछन् । नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्थानीय पालिकाले कोरोना भाइरसबाट बच्न र बचाउनका लागि गरेको निर्णय नै कोरोना भाइरसविरुद्ध लड्ने सुरक्षाकवच भएको बताउने अध्यक्ष नरेन्द्र चौधरीसँग छिनछिन खबरका लागि रमण ओलीले गरेको संवाद ।

अहिलेको दिनचर्या कसरी बिती रहेको छ ? 

अहिलेको मेरो दिनचर्या विशेष गरेर जनताको सेवामा बितिरहेको छ । विश्वभर महामारीको रुप लिँदै गइरहेको कोरोना भाइरसबाट गाउँपालिकावासीलाई कसरी जनचेतना फैलाउन सकिन्छ र कसरी उनीहरुलाई सुरक्षित राख्न सकिन्छ भन्नेतर्फ नै मेरो ध्यान केन्द्रित छ । त्यस्तै देशमा जारी लामो लकडाउनका कारण गाउँपालिकामा रहेका दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग, गरिब, अति विपन्न परिवारको लागि राहत वितरणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर डाटा संकलन गर्ने र राहत पाउनयोग्य व्यक्ति कोही वञ्चित नहुन भनेर धेरै सचेत भएर सम्बन्धित वडा अध्यक्ष, वडा सदस्यको रोहवरमा डाटा संकलन र अनुगमन गरिरहेका छौं ।

राहत वितरण कार्य कहाँसम्म पुग्यो ?

राहत वितरणको कार्य पारदर्शी तवरले भइरहेको छ । र राहत वितरण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । केही ठाउँमा डाटा संकलनमा समस्या आएका कारण त्यहाँ छानबिन भइरहेको छ । हामीले नेपाल सरकारले दिएको परिधि र गाउँपालिकाको कोषको अवस्था हेरेर राहत दिनु पर्ने हुन्छ । सम्पूर्ण गाउँपालिकावासीलाई राहत दिन गाउँपालिकाको कोषले भ्याउँदैन् । यौद्यपि १० हजार घरधुरीलाई हामीले ४ वटा मास्क र दुईवटा साबुनका दरले वितरण गरेको छौं । राहत वितरणको डाटा लिने क्रममा गाउँका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सामाजिक दूरी कायम गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेका छौं।

केही वडाबाट करिब ५०/६० प्रतिशत जनसंख्याले राहत पाउने डाटा हामीलाई उपलब्ध भएकाले धेरै समस्या भएको थियो । वास्तविकले पाउनु पर्ने राहत अरुले नपाउन भनेर वडा अध्यक्ष, वडा सदस्यको रोहवरमा पुनः अनुगमनद्वारा डाटा संकलन गर्ने कार्य जारी छ । त्यहाँ वास्तविक राहत पाउनयोग्य व्यक्ति छनोट भइसकेपछि राहत वितरणको कार्य सम्पन्न गर्छौं ।   

कुनै गाउँवासीको घरमा चुल्हो नबलेको थाहा पाउनु भयो भने के गर्नु हुन्छ ?

त्यस्तो अवस्था हामीले आउनै दिँदैनौं । कोही पनि गाउँपालिकावासीलाई त्यस्तो अवस्था आयो भने जुनसुकै बेला म स्वयम् त्यहाँ पुग्छु ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग र किसानलाई सबैभन्दा बढी मार परेको छ । यस्तो अवस्थामा उनीहरुलाई लक्षित गरेर कुनै कार्यक्रम ल्याउनु भएको छ ?

हो अहिले सबैभन्दा बढी मारमा कोही परेका छन् भने दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग र किसान वर्ग नै छन् । कोरोना भाइरसको महामारीका बेला उनीहरु लक्षित कार्यक्रम तत्कालै संचालन गर्न नसके पनि नेपाल सरकारको नीति र नियमलाई अवलम्बन गर्दै विकास निर्माणका कार्यलाई गाउँपालिकाले अघि बढाउने नै छ । त्यो भन्दा पनि कोरोना भाइरसबाट उनीहरुलाई गाउँपालिकाले कसरी बढी भन्दा बढी राहत दिन सक्छ, लकडाउनका बेला उनीहरुको दैनिकी कसरी सहज गराउन सकिन्छ, उनीहरुको दुःखमा कसरी सहभागी हुन सकिन्छ भन्नेतर्फ बढी ध्यान केन्द्रित छ ।

डुडुवा गाउँपालिका भारतीय सीमासँग प्रत्यक्ष जोडिएको छ । त्यसले केही समस्या सिर्जना गरेको त छैन ?

डुडुवा गाउँपालिकाको होलिया खडैचा, हिरमिनियाको नयाँवस्ती पोस्ट र उधुमगन्ज भारतीय सीमासँग जोडिएको नाका हो । लकडाउनको सुरुवाती चरणमा केही व्यक्तिको नेपाल–भारत आवतजावत गर्ने क्रम जारी रहेपनि अहिले पूर्ण रुपमा बन्देज लागेको छ । जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सुरक्षाकवचमा ती नाका रहेका छन् । भारतीय सीमाका कारण कोरोना रोकथामका लागि आइपर्ने बाधा अड्चनलाई हामीले समाधान गरिसकेका छौं ।

क्वारेन्टाइन र स्वास्थ्य संस्थाको अवस्था कस्तो छ ?

कोरोना भाइरससँग लड्नका लागि क्वारेन्टाइन र स्वास्थ्य संस्थाको अवस्था डुडुवा गाउँपालिकामा धेरै राम्रो छ । जहाँ २४ सैं घण्टा स्वास्थ्यकर्मीको उपस्थिति रहेको छ भने क्वारेन्टाइनमा रहेकालाई स्वास्थ्यकर्मी, जनप्रतिनिधिको निगरानीमा राखिएको छ । गाउँपालिकाभर ३८ बेडको तीनवटा क्वारेन्टाइन निर्माण गरिएको छ । कोही कसैलाई स्वास्थ्य समस्याबाट पिरोलिन नपरोस् र कोरोना भाइरस चेकजाँच र त्यसबाट बच्ने सचेतना फैलाउनका लागि ठाउँठाउँमा हामीले हेल्प डेस्क स्थापना गरेका छौं । साथै क्वारेन्टाइनमा पनि त्यहाँ बस्नेहरुका लागि खाने बस्ने राम्रो प्रबन्ध मिलाइएको छ । अहिले ती क्वारेन्टाइनमा १६ जना व्यक्ति जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

गाउँपालिकावासीसँग तपाईले कस्तो अपेक्षा गर्नु भएको छ ?

गाउँपालिकावासीले जुन विश्वास र आशाले मलाई यस ठाउँमा पुर्‌याउनु भएको छ त्यो विश्वास र आशालाई म कहिले डग्न दिनेछैन भन्ने विश्वास दिलाउन चाहन्छु । जसरी निर्वाचनताका मलाई विश्वास गरेर यहाँसम्म पुर्‌याउनु भयो त्यसरी नै यस महामारीका बेला पनि विश्वास गरेर मलाई साथ दिनूस् । यस्तो महामारीका बेला राजनीतिक भावनाले वा अन्य अफवाहका कारण हामी गाउँपालिकावासी फुट्ने नभइ एकजुट हुनु पर्ने समय हो । राजनीतिक आस्था, नातावाद कृपावादको जालोमा नफसी मानवीय भावना जगाउने समय हो । गाउँपालिकावासीको घरमा चुल्हो बलेन वा अन्य स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आइपरे तुरुन्त सम्बन्धित वडा कार्यालय, स्वास्थ्यकर्मी वा सिधैँ मलाई फोन गर्नुस् ।

लोभ र लालचमा फसेर गरिब, विपन्न, दैनिक रुपमा ज्याला मजदुरी गरेर खाने वर्गको लागि गाउँपालिकाले दिँदै आएको राहत पाउन मरिहत्ते नगर्नुस् । छरछिमेकमा खाना नपाएर बसेका कोही छन् भने सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नूस् सक्नु हुन्छ भने आफै उनीहरुको दुःखमा साथ दिनूस् । नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपले पालना गरेर घरमै बस्नूस् । कुनै गुनासा र समस्या भए तुरुन्त हामीलाई खबर गर्नुस् ।

अन्त्यमा, म बाँकेवासीलगायत गाउँपालिकावासीलाई विश्वास दिलाउन चाहन्छु कि तपाई/हामी एकजुट भएर स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्थानीय पालिकाको निर्णयलाई आत्मसात गर्‌यौं भने जस्तोसुकै महामारी र समस्या आइपरेपनि त्यसलाई हामी सहजै परारस्त गर्न सक्छौं ।

Womui
Womui