प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारी

157


यादव देवकोटा
काठमाडौं, वैशाख ८–

आफैंसँग आफ्नै प्रतिस्पर्धा । त्यसैको नाम विकास । समुन्नति । आधुनिक युग ।

कम्ती रोचक छैन ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको र्निमाण–विनिर्माणको करोडौं वर्ष लामो विवरण । यो ग्रह जीवनका लागि उपयुक्त भएपछि त्यसयता कसरी जीवहरूको उत्पत्ति भयो र त्यो एककोषीय, बहुकोषीय, गर्भदान गर्न सक्ने, स्तनधारी, चारखुट्टे हुँदै दुईखुट्टे मानवका रूपमा विकसित भयो भन्ने मानव उद्विकासको प्रलयकारी विवरण उत्तिकै रोमाञ्चकारी छ । उत्तिकै अत्यासलाग्दो पनि छ, मानव जातिको उद्विकासको यो लामो यात्रामा यो जातिले गरेको प्रकृतिमाथिको चरम दोहन, शोषण र अत्याचारको प्रक्रिया । ढुंगे युग, सिकारी युग, कृषि युग, औद्योगिक क्रान्ति, आणविक युग, सिलिकन युगका नाममा मानव जातिले जे–जति विकास, समृद्धि, उन्नतिको पटकथा सतहमा ल्याएको छ, त्यसको अन्तर्यमा प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारीको यथार्थ उत्तिकै अत्यासलाग्दो छ ।

मानिसका पूर्खाहरूले लाखौं वर्षअघिदेखि विभिन्न तवरले वातावरणलाई प्रभावित बनाउँदै आइरहेका छन् । मानिसका पुर्खाहरू अफ्रिकाबाट निस्केर विश्वभर छरिन थालेपछि उनीहरूले जिन्दगीको आवश्यकीय व्यवस्थापनका लागि विशाल जंगलहरूको विनाश सुरु गरे । पृथ्वीको विशाल स्वस्थ वातावरणमाथि मानव शासनको सुरुआत गरे । कम से कम साठी लाख वर्षदेखि मानव जातिले वातावरणमा चरम परिवर्तन गराएको छ । जंगली युग, सिकारी युगका दिनसम्म मानिस जमिन र रूख दुवै ठाउँमा सहज तवरले बस्न सक्थे ।
पर्यावरणीय चक्रको वदलावबाट लाभ उठाएर मानिसका पुर्खाहरूले खाद्यान्नका लागि फलफूलहरू संकलन गर्ने र वन्यजन्तुको सिकार गरेर आफ्नो निर्भरता प्रकृतिमाथि केन्द्रित गर्दै पर्यावरणमाथि हस्तक्षेपको शृंखला अघि बढाउँदै आएको पाइन्छ ।

प्रकृतिको चक्र, जनावरको बासस्थान–खानपान–हिँडडुल आदि हेरेर मानिसले त्यसबाट सिक्दै, प्रयास–विफलता–सफलताको बाटो हिँड्दै आफ्नो जीविकाका लागि आफूवरपरको पर्यावरणलाई आफूअनुकूल परिवर्तन गराए पनि उनीहरू पहिले कहिल्यै पर्यावरणीय चक्रलाई पूर्ण रूपले फेरबदल गर्ने हैसियतमा पुगेनन् । तर, त्यो दिन पनि आएरै छाड्यो, जब मानिसले औद्योगिक क्रान्तिपछिका दिनमा उद्योग सञ्चालन गर्न रसायनहरूको प्रयोग, प्राकृतिक खनिज र स्रोतको दोहन गर्न थाल्यो । वैज्ञानिक उपलब्धिका नाममा आणविक परीक्षण गर्न थाल्यो । विकास र समृद्धिका नाममा प्राकृतिक स्रोतको दोहन गरेर मानवीय विलासिताका सामान निर्माण गर्न थाल्यो ।

त्यसपछि पर्यावरणीय चक्र नै उथलपुथल हुन गयो (स्टेफन, डब्लूजे. र अरू–दी एन्थ्रोपोसेन स् कन्सेप्च्युअल एन्ड हिस्टोरिकल प्रस्पेक्टिभ, पृ. ८४६) ।

होमो इरेक्टसले ढुंगाको हतियार बनाउन थालेपछि र पछिबाट उनीहरूले आगोको नियन्त्रण र उपयोग गर्न जानेपछि प्रकृतिका अन्य जीवमाथि मानिस हावी हुन थाल्यो ।

हैकम चलाउने र अरूलाई दबाउने स्थानमा उक्लियो । फलफूल मात्रै खाएर जीविका चलाउने मानिस ढुंगाको हतियारको आविष्कारपछि सर्वआहारी हुन थाल्यो । आगोको प्रभुत्व हातमा लिएपछि उसको सर्वआहारी प्रवृत्ति तीव्रतर भएर गयो । त्यसले मानिसको शरीर र दिमागको क्षमता परिवर्तन गरायो । मानिसको दिमागको आकार १३०० सीएम क्युबसम्म पुग्यो र ऊ शरीरको आकारको तुलनामा सबैभन्दा ठूलो दिमाग हुने प्राणीमा दरियो । यसैका कारण उसले पहिले बोल्ने भाषा र पछिबाट लेख्ने भाषाको विकास गर्न सक्यो । दुवै खाले भाषा एक पुस्तादेखि अर्को पुस्तासम्म ज्ञान संकलन र हस्तान्तरणको प्रमुख कारकका रूपमा संघटित भयो (स्टेफन र अरू, उही, पृ. ८४६) । सत्र लाख वर्ष हाराहारीदेखि मानिसका पुर्खाले आगोको नियन्त्रण, उपयोग र सञ्चय गर्न थालेको प्राक–मानवशास्त्रीहरूले अनुमान गरेका छन् ।

होमो इरेक्टसले दस लाख वर्षपहिले आगोको नियन्त्रण गरेको पाइएको छ । डेढदेखि तीन लाख वर्षअघि नियन्डरथल र होमो सेपियन्सले आगोको नियन्त्रण र प्रयोग गरेको बताइन्छ ।

मानिसले जब आगोको नियन्त्रण, सञ्चय र उपयोग गर्न सिक्यो, त्यसपछि खानाको जोहोका लागि विशाल जंगलहरूमा आगलागी गराउन थाल्यो ।

एघार हजार वर्ष जतिअघि पूर्वी मेसोपोटामियामा सुरु भएको केहीपछि नै उत्तरी चीनमा कृषि युगको आरम्भ भयो ।त्यसको केही हजार वर्षपछि अमेरिकामा पनि यो युग सुरु भयो ।

८ हजार वर्षअघि युरोपेलीहरूले गहुँ, जौ, केराउजस्ता खेतीका लागि विशाल जंगल सखाप पार्न थाले । पचहत्तर सय वर्षजति अघि मानिसले धानलाई घरेलु खेती बनायो । आज जति पनि खाद्यान्न खाइन्छ, ती सबै २ हजार वर्षअघि नै खाद्य उत्पादनका रूपमा खेती सुरु भइसकेका थिए, विश्वको कहीँ न कहीँ । धान रोप्ने खेतमा सिँचाइको सिकाइ अभ्यासमा आएपछि खेती प्रणालीले अप्राकृतिक तवरले कार्बनडाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन सुरु गर्‍यो । सिँचाइको सीप अस्तित्वमा आउनुअघि घैयाजस्ता सुक्खा धानखेती मात्रै गरिन्थ्यो । ५ हजार वर्षभन्दा अघि नै दक्षिणी एसियामा धानखेतीका लागि सिँचाइ प्रणालीको सीप प्रयोगमा आइसकेको थियो । त्यसले मिथेन ग्यासको अकल्पनीय उत्सर्जन प्रारम्भ गर्‍यो (रुड्डिम्यान, विलियम एफ.–हाउ डिड ह्युमन फर्स्ट एल्टर ग्लोबल क्लाइमेट, पृ. ५०) । सिन्धु घाँटी उपत्यका र त्यसवरपरका महात्रिपुर भनिने तीन भव्य प्राचीन सहरी सभ्यताअन्तर्गत मेहेन्जेदारो र हरप्पाको उत्खननमा भव्यतम र व्यवस्थित सिँचाइका नहरहरू फेला पर्नुले दक्षिणी एसियाको यो भेगमा मानव सभ्यता विकासको उत्कर्षकाल ६ हजार वर्ष वरपर लगेर संघटित गराउँछ ।

कृषि युगको आरम्भपछि खेतीका लागि जंगल फँडानी गर्दा आरम्भमा साना–ठूला नदीका पानीढलोको आसपास छानियो । सिँचाइका लागि नहर बनाउने सीप प्रयोगमा आएपछि माथि भनिएझैं कार्बनडाइअक्साइड र मिथेन ग्यासको उत्सर्जन तलबितल भयो र परिणामस्वरूप लाखौंलाख वर्षपछि प्राकृतिक कारणभन्दा भिन्न तवरले मानिसका कारण पृथ्वीको तापक्रममा परिवर्तनको परिघटना दृश्यमान भयो । आठ हजार वर्षदेखि जंगल फँडानी र त्यसपछि सिँचाइ प्रणालीका कारण ओजन तहमा कार्बनडाइअक्साइडको तहमा भारी वृद्धिसँगै सूर्यबाट प्राप्त हुने ऊर्जा घट्दै गयो (स्टेफन र अरू, उही, पृ. ८४७) ।

दुई हजार वर्ष जतिअघि दक्षिणरपूर्वी एसियामा किसानहरूले आज पहाडी भिराला पाखाहरूमा देखिने तहगत खेतका लागि गह्रा निमार्ण सुरु गरे । त्यही समयरेखाको आसपास भारतीय उपमहाद्वीप, दक्षिणपूर्वी एसिया, चीनमा प्राकृतिक जंगल मासेर गहुँ खेती आरम्भ भयो (रुड्डिम्यान, उही, पृ. ५१) ।

औद्योगिक क्रान्तियता जब मानिसले ‘फोसिल फ्युल’ पत्ता लगाएर त्यसको दोहनमा लाग्यो, तब प्राकृतिक स्रोत साधनमाथि चरम विनाशको सिलसिला तीव्र बन्यो । बेलायतमा औद्योगिक क्रान्तिको सुरुआतपछि उन्नाईसौं शताब्दीको वाष्प इन्जिनमा आधारित औद्योगिक क्रान्तिले परम्परागत कृषि युगको अन्त्य गरायो । त्यसले मानव इतिहासलाई एउटा परम्पराबाट अर्को परम्परामा मात्रै डोर्‍याएन, प्रकृति र वातावरणमाथि मानिसको शोषण र दोहनको गति र मात्रालाई ह्वात्तै बढाइदियो (स्टेफन र अरू, उही, पृ. ८४८) । सन् १९४० को दशकपछि (आणविक युगको सुरुआतपछि) जब मानव जाति आणविक बमहरूको परीक्षणको होडबाजीमा लाग्यो, त्यसले छाड्ने रेडियोधर्मी विकिरणहरूले पृथ्वीदेखि वायुमण्डलसम्मका सारा जीवनशील प्राणी, वनस्पति, माटो, हावा, पानीसमेत मृत बनाउँदै लग्यो । अठारौं शताब्दीबाट बीसौं शताब्दीसम्ममा मानिसको जनसंख्या एक अर्वबाट बढेर ६ अर्ब पुग्यो । दोस्रो विश्वयुद्धसम्म दुई अर्ब रहेको विश्व जनसंख्या आज साढे सात अर्बभन्दा बढी पुगेको छ । यसबीचमा अर्थतन्त्रको आकार पन्ध्र गुणा बढेको छ । दोस्रो विश्वयुद्धसम्म चार करोड हाराहारी रहेको मोटर गाडीको संख्या बढेर आज डेढ अर्ब बढी पुगिसकेको छ । त्योसँगै ऊर्जाको उपभोग ४० गुणा बढेको र हरितगृहमा कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड ग्यासको भारी वृद्धि भएको छ (स्टेफन र अरू, उही, पृ. ८५०) ।

मानव जातिले हस्तक्षेप गरेर महामारी मच्चाउनुअघि शतप्रतिशत रहेको जंगली स्तनपायी जनावरको संख्या तिनलाइ मानिसले घरपालुवा बनाउन थालेपछि घट्दै गएको छ । आज ६० प्रतिशत घरपालुवा, ३६ प्रतिशत मानिस र ४ प्रतिशत मात्रै जंगली स्तनपायी छन् । चराचुरुंगीहरूको संख्या संकुचित भएर ७० प्रतिशत घरपालुवा कुखुरा रपोल्ट्री फार्ममा पालिने चराहरूले ओगटेको छ भने जंगली चराचुरुंगीको संख्या ३० प्रतिशतमा झरेको छ । जबकि पृथ्वीमा सजीव वस्तुरप्राणीमध्ये वनस्पतिको प्रतिशत ८२, ब्याक्टेरियाको प्रतिशत १३ र मानवसहित अरू जीव ५ प्रतिशत मात्रै छन् । त्यो ५ प्रतिशत प्राणीमा पनि मानिसको संख्या ०.०१ प्रतिशत मात्रै छ । यसरी ०.०१ प्रतिशतको संख्याको मानिसले ९९.९९ प्रतिशत वनस्पति, जीवाणु र प्राणीहरूमाथि महामारी लादेर विनाशलीला मच्चाएको छ ।

मानव जातिको लामो इतिहासमा सिकार, कृषि, आवास, विकासका नाममा भएका गतिविधिका कारण पृथ्वीमा जीवन भएका प्राणी, वनस्पति, जीवाणुहरूको ६ भाग विनाश भएको छ । डेमियन करिङटनले ‘गार्डियन’ मा लेखेको विवरणअनुसार मानिसले ८३ प्रतिशत स्तनपायी बन्यजन्तु सखाप पारेको छ भने ८० प्रतिशत समुद्री स्तनपायी जीव मारिएका छन् । उनका अनुसार बितेको पचास वर्षमा पृथ्वीको आधाभन्दा बढी जनावर विलुप्त भएका छन् । मानिसहरूको गतिविधिले वनस्पतिको आधारभूत उपस्थिति नै परिवर्तन गराएको छ । सन् १९७० देखि दोब्बर हुन गएको जनसंख्याका कारण ७० प्रतिशत जंगल मासिएको छ । ७७ प्रतिशत एक हजार किमिभन्दा लामा नदीहरू मानवीय उपभोगका कारण स्वतन्त्र तवरले बग्नबाट बन्चित छन् । ६६ प्रतिशत समुद्रको सतह प्लास्टिक, उद्योग र कृषिजन्य प्रदूषणले प्रदूषित भएको छ । इन्डोनेसियन वर्षात् गराउने जंगल पाल्मका रूखहरू रोप्न विनाश पारिएको छ भने अमेजन जंगलको विशाल हिस्सा भटमास, उखु, कफी, गहुँ रोप्न, जनावर पाल्न र ऊर्जा उत्पादनका लागि नासिएको छ ।

मानव जातिको यही बल मिच्याइँ र प्राकृतिक स्रोत, साधनमाथिको दोहन र शोषणले सन् २१०० सम्ममा पृथ्वीको तापक्रम ३.७ डिग्री सेन्टिग्रेटदेखि ४.८ डिग्री सेन्टिग्रेटसम्मले बढ्ने प्रक्षेपण गरिएको छ (समरी फर पोलिसी मेकर, आईपीसीसी) । जुन बितेको एक करोड चालीस लाख वर्षमा पृथ्वीको जति तापक्रम बढेको छ, त्योभन्दा बढी हुनेछ ।

आजको दिनमा जुन देशहरूले जति धन, सम्पत्ति, समृद्धिको आडम्बरको राडी ओढेर बसेका छन्, ती देशहरूले त्यही मात्रामा प्राकृतिक स्रोत, साधनको शोषण, दोहन र उपभोग गरेका छन् । लोकतन्त्र, मानवअधिकार, आतंकवाद, शान्तिको आवरणमा आज ठूला र शक्तिशाली भनिने देशहरूले अन्य देशमाथि गर्ने आक्रमण र युद्धको अन्तर्यमा ती देशहरूमा मौजुद कच्चा तेल, ग्यास, खनिज, सुन, पानीजस्ता प्राकृतिक स्रोत, साधन कब्जा गर्नु रहेको तथ्य अब खुला सत्य भइसकेको छ । आजको समृद्धिमा धेरै–थोरै मानवीय चलाखीको खेलोबाहेक अन्तर्यमा सम्पूर्ण तवरले प्रकृतिको चरम दोहन प्रमुख आधार छ । मानिसले गरेको भनिने उन्नति, प्रगति, आविष्कार, चमत्कारको हौवाबाट प्राकृतिक स्रोत, साधनको उपयोग, सदुपयोग, दुरुपयोगलाई अलग गरिदिने हो भने त्यो फोस्रो र खोक्रो ठहरिनेछ ।

बीबीसीमा जुन १६, २०१५ मा चार्लोट्टे म्याकडोनाल्डले ‘हामीलाई कतिवटा पृथ्वी चाहिन्छ’ शीर्षकमा लामो लेख छपाएका छन् । उनले ग्लोबल फुटप्रिन्ट नेटवर्क (जीएफएन) को एउटा शोधलाई उद्धृत गर्दै लेखेका छन्, आजका अमेरिकीहरूले बाँचेको स्तरको जिन्दगी बाँच्न विश्वभरका ७.६ अर्ब जनसंख्याका लागि चारवटा पृथ्वी बराबरको प्राकृतिक स्रोत, साधनको दोहन गरिनुपर्छ । जीएफएनका अनुसार कुबेतीहरूको स्तरको जीवन बाँच्नका लागि ५.१ वटा, अस्ट्रेलियनहरूको स्तरको जिन्दगीका लागि ४.८ वटा,सिंगापुरियनहरूको स्तरको जीवन बाँच्न ३.४ वटा पृथ्वी बराबरको स्रोत, साधन दोहन गरिनुपर्छ ।

यसरी वातावरणको सन्तुलनलाई उलटफेर पार्ने गरी प्रकृतिमाथि महामारी मच्चाउने मानव जातिको कर्मले मानव जातिमाथि महामारी मच्चाउने जीवाणुहरूका लागि उपयुक्त वातावरण तयार गरिरहेको छ हजारौं वर्षदेखि । सडक निर्माण, सहर निर्माण, आवास निर्माण, बन्यजन्तुको सिकार, वायुमण्डलको तापक्रममा परिवर्तन गराउने र जीवाणुहरूको बासस्थान विनाश गर्ने कामले जीवाणुहरूलाई अस्तित्व रक्षाका लागि नयाँ स्थान खोज्न बाध्य तुल्याउने काम मानिसले नै गरिरहेको छ । काठ, जनावर काटेर बजारमा पठाउने, खेतीपाती, आवास निर्माणका लागि वातावरणीय चक्र बिथोल्ने काम गर्दा हामीले जीवाणुहरूलाई प्राकृतिक स्थानबाट बेदखल गरिरहेका हुन्छौं । जब उनीहरूले प्राकृतिक आश्रय गुमाउँछन्, अनिवार्यतस् उनीहरू नयाँ आश्रयदाताको खोजीमा भौंतारिन्छन् । सारा बोटबिरुवा, हावापानी, जीवजन्तु, तापक्रम बिगारेर खाली गरेपछि निसन्देह जीवाणुहरू नयाँ आश्रयदाताका रूपमा मानिसलाई छान्ने बाध्यतामा पुग्छन् । परिणामतस् कोरोना संक्रमण या विगतका स्वाइन फ्लू, बिफर, एड्सजस्ता महामारीहरू मानव जातिमाथि उपहारका रूपमा संक्रमित भएका पाइन्छन् ।

यसर्थ, मानव जातिले इतिहासको लामो कालखण्डमा आफ्नो स्वार्थ पूर्तिका लागि प्रकृतिमाथि चरम शोषण र दोहन गरेको तथ्य हामीले भुल्नु हुँदैन । सडक विस्तारका नाममा मनलाग्दी डोजर जोत्ने, खेतीकिसानीका नाममा सिँचाइमार्फत जमिनमा पानी घोलेर अप्राकृतिक तवरले मिथेन ग्यास उत्सर्जन गर्ने, बस्ती र सहर निमार्णका क्रममा जमिनको प्राकृतिक संरचनालाई उथलपुथल पार्ने, ऊर्जा र फर्निचरका लागि विशाल जंगल सखाप पार्ने काम आज झन्झन् तीव्रत्तर भएर गएको छ । आणविक होडबाजी र विशाल कलकारखानाका कारण कार्बन उत्सर्जन गरेर विश्वको तापमान वृद्धि गरिएको परिणाम हिमालहरूबाट हिउँ निख्रँदै गएका छन् भने मैदानी भेगको निश्चित तापक्रममा मात्रै जीवित रहन सक्ने लामखुट्टे पच्चीस सय मिटरमाथि उक्लिरहेको छ । अझैं पनि प्रकृतिमाथि विनाशलीला नरोकिए मानव जातिको भावी पुस्ताले सामना गर्नुपर्ने महामारीको स्वरूप अकल्पनीय रूपमा उच्च हुनेछ ।

(यो आलेख तयार गर्न ‘बीबीसी’, ‘द गार्डियन’, ‘द नेचर’, लगायतमा प्रकाशित कतिपय सामग्रीकोसहयोग लिइएको छ ।)
साभारः कान्तिपुर डट कम

Womui
Womui