‘नरैनापुरका नाकाबाट कसैलाई पनि प्रवेश हुन दिएका छैनौ’

135

ईस्तियाक अहमद शाह
अध्यक्ष, नरैनापुर गाउँपालिका बाँके ।

 

नरैनापुर गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन के–के काम गरिरहेको छ ?
नरैनापुर क्षेत्रमा जतिपनि सिमा नाका छन्, ती नाकामा हामीले सुरुमा कडाई गर्यौं । मान्छेहरु न यता आउन पाए, न त उतातिर जान पाए । त्यसपछि नाकामा हामीले हेल्थ डेस्क राख्यौं । जतिपनि मान्छे आए, तिनीहरुलाई स्वास्थ्य जाँच गर्यौं । तेस्रो चरणमा नाकालाई शिल नै गर्यौं । भारतबाट भागेर आएका मान्छेहरु हाम्रो नाकाबाट पनि प्रवेश गरेका थिए, उनीहरुलाई क्वारेन्टाइन बनाएर राखेका छौं । अहिलेसम्म १ सय ३४ जना बसेका छन् । अब १४ दिन पुर्याएपछि अब के निर्देशन हुन्छ माथीबाट, त्यही निर्णय गर्नेछौं । अर्को राहतको कुरा छ, ७ सय २० जना परिवारलाई राहत बाँड्यौं । धेरै गरिब छन् । उनीहरुलाई पनि राहत बितरण गर्ने सोच बनाएको छु ।

नरैनापुर गाउँपालिका भारतीय सिमासँग प्रत्यक्ष जोडिएको छ । गाउँपालिकाले भारतबाट संक्रमित ब्यक्ति भित्रिन नदिनको लागि के सोच बनाएको छ ?
अहिले सिमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन भएका छन् । सिमा क्षेत्रमा जनपथ र सशस्त्र प्रहरी एक किलोमिटरको दुरिमा बसेका छन् । सुरक्षाकर्मीको जनशक्ति थपिएको छ । नरैनापरका नाकाबाट कोही पनि प्रवेश हुन पाएका छैनन् । भारतमा पनि लकडाउन चलिरहेको छ । सबभन्दा समस्या त हाम्रो वडा नम्बर ५ का अढाई सय जना केटाहरु भारतको बम्बईमा बसेका छन् । उनीहरु सबै एउटै ठाउँमा छन् । मसँग फोनमा कुरा गर्दै उनीहरु रोई कराई गरे । मलाई लाग्छ कि नेपाल सरकारले यस्तो कुरालाई हेर्नुपर्छ । उनीहरुलाई ल्याउन सक्ने अवस्था छैन अहिले, लकडाउन खुलेपछि पनि ठुलो समस्या आउँछ । नरैनापुरको स्थिती यस्तो छ ।

गाउँपालिकाले क्वारेन्टाइनको ब्यवस्थापन कसरी मिलाइरहेको छ ?
हामीले खाना, नास्ता र सुत्नको लागि बिस्ताराको ब्यवस्था गरेका छौं । बिस्तारमा तन्ना, झुलको पनि ब्यवस्था गरिदिएका छौं । हामी आफै आएर दुई/चार घण्टा त्यहाँ बस्छौं । हाम्रै जनता हुन्, माया पनि गर्नुपर्छ । मलाई जनताले त प्रमुख ज्यु तपाईले धेरै दुःख गर्नु भयो, धेरै दौडधुप नगर्नुस्, स्वास्थ्यको ख्याल गर्नुस्, भनेर भन्छन् । तर मेरो मनले मान्दै मान्दैन ।

क्वारेन्टाइनको ब्यवस्थापन गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह ।

गाउँपालिकाले स्थापना गरेको राहत कोषको अवस्था के छ ?
मैले आफ्नो तर्फबाट २५ हजार कोषमा राखेर सुरुवात गरे । अरु साथीहरुसँग पनि कुरा गरिरहेको छु । प्रदेश सांसद कृष्णा केसी नमुनाले १० क्वीन्टल चामल दिनुभयो । दाल र तेल दिनु भयो । अनि युनेस्कोले २० बोरी चामल र नुन दियो । हाम्रो यहाँ ज्याला मजदुरी गरेर खाने धेरै छन् । अब गाउँपालिकाले पनि एक/दुई दिनमा निर्णय गर्छ, कस्तो स्थिती आउँछ हेरौं ।

दैनिक ज्याला मजद्री गरेर परिवार चलाउनेको अवस्था के छ ?
धेरै समस्यामा छन् । गरिब परिवार धेरै छन् । दैनिक काम गरेर खानेलाई समस्या भइरहेको छ । गाउँपालिकाले अहिलेसम्म ७ सय २० परिवारलाई राहत दियो । गरिब मान्छेहरु धेरै छन् यहाँ । राहत सामाग्रीको कमी छ । ब्यवस्थापन गर्न गाह्रो भइरहेको छ । जसको घरमा चुलो बल्न सकेको छैन, जो अति गरिब छन्, उनीहरुले मात्र राहत पाएका छन् । राहत बाँड्न वडा अध्यक्षलाई जिम्मा लगाएको थिए, मैले । मैले वडाध्यक्षलाई भगवानसँग कसम खुवाएको थिए, बिलकुल इमान्दारीसँग काम गर्नु भनेर । अहिले राहतको कमी छ । अब यो भन्दा माथीका परिवारलाई पनि समस्या हुने वाला छ अब । किनकी लकडाउन लम्बिदै गएको छ । जसको घरमा अलि अलि दाल चामल थियो, अब उनीहरुको घरमा पनि सकिन्छ । घरमा खाना छैन बाबा भनेर मलाई भन्छन् । ठिक छ एक÷दुई दिन रोक्नुस् भनेको छु । यस्तो छ नरैनापुरको अवस्था । राहतको लागि त केन्द्रबाट सहयोग हुनुपर्छ । अहिलेसम्म केन्द्रबाट सहयोग आएको छैन ।

अहिलेसम्म संघ र प्रदेश सरकारबाट सहयोग आएको छ कि छैन ?
अहिले सम्म त आएको छैन । मलाई समय लाग्छ, सरकारले चाडै ब्यवस्था मिलाउनुपर्छ ।

नरैनापुर क्षेत्रमा रहेका स्वास्थ्य संस्था र क्वारेन्टाइनमा स्वास्थ्य सामाग्रीको पर्याप्तता कस्तो छ ?
अरु त ठिकै छ । औषधीको ब्यवस्था गरिरहेकै छु । दिनरात लागेकै छु । डाक्टरले पनि सहयोग गरिराखेकै छन् । ज्वरो नाप्ने थर्मोगन हामीसँग थिएन, राप्तीसोनारी गाउँपालिकाबाट ल्याएर आएँ । बजारमा किन्न पनि पाएन । कमसेकम सरकारले यो ब्यवस्था त गर्नुपर्छ नि । सरकारले प्रत्येक पालिकालाई ब्यवस्था गर्नुपथ्र्यो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन छिमेकी पालिकाहरुसँग कस्तो सहकार्य भइरहेको छ ?
सबैसँग सहकार्य र समन्वय भइरहेको छ । सबैसँग छलफल, कुराकानी हुन्छ ।

कोरोना भाइरसविरुद्ध काम गर्दा कत्तिको समस्या र चुनौती आएका छन् ?
चुनौती त धेरै छ । मैले जति सकेको छु, अहिलेसम्म गरिरहेकै छु । बिहान उठ्छु, ठाउँ ठाउँमा जान्छु, काम गर्दा गर्दै राती अबेर भइहाल्छ ।

नरैनापुरका जनतासँग तपाईले कस्तो अपेक्षा गर्नु भएको छ ?
मैले जनतालाई सम्झाईरहेको छु । जनताले यो बेलामा घर बाहिर ननिस्केर सहयोग गर्नुपर्छ । घर बाहिर ननिस्किनुस् भनेर सबैलाई सम्झाईरहेको छु । घरमा बस्नुस्, हात धुनुस्, हात सफा राख्नुस् भनेको छु । कोरोना भाइरसको औषधी यही नै हो । हाम्रो जीवन बचाउने अल्लाह, भगवानको हातमा छ । अहिले जनताले धेरै कुरा बुझिसकेका छन् । अत्यावश्यक काम परेपछि मात्र बाहिर निस्कन्छन्, नत्र घरभित्रै बस्छन् ।

कतिपय किसानले बालीबोट स्याहार्दैछन्, लकडाउनले गर्दा घरभित्रै बस्नुपर्ने बाध्यता छ । किसानका लागि गाउँपालिकाले कुनै सोच बनाएको छ ?
किसानले यतिबेला बालीबोट स्याहार्नैपर्ने बाध्यता छ । तर, धेरै भिडभाड नगरेर दुरी कायम गरी एक/दुई जनाले स्याहार्नुस् भनेर अनुरोध गरेका छौं । भारतमा ठुल्ठुलो मेसिन हुन्छ, गहुँ काट्नलाई । हाम्रो यहाँ त त्यस्तो मेसिन छैन । नत्र एक/दुई दिनमा सबै गहुँ काटेर सिद्धिन्थ्यो होला । तैपनि किसानले सावधानी पुर्वक गहुँ काट्ने काम गरिहेका छन् ।

अब, अन्त्यमा नरैनापुरका बासिन्दालाई के भन्नुहुन्छ ?
म यो भन्छु कि सबै जना घरभित्र बस्नुस्, अल्लाह, भगवानसँग प्रार्थना गर्नुस् । उहाँकै हातमा छ, हामीलाई बचाउने । मलाई लाग्छ कि सबैको लागि हो । घरभित्र बस्नुस्, सफा राख्नुस्, पुजा गर्नुस् । तर, पुजा गर्ने ठाउँमा पनि भिडभाड गर्ने होईन । पुजा गरेपछि घर पवित्र पनि हुन्छ । मेरो यही अनुरोध छ ।

( नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहसँग रेडियो भूवर भवानी ९८.८ मेगाहर्जको विशेष कार्यक्रममा अर्जुन ओलीले लिएको अन्र्तर्वाताको सम्पादित अंश ।  )

 

 

Womui
Womui