कोरोना प्रभावित जनताको मलहम बन्दै उपाध्यक्ष धनीकुमारी

207

खड्क खत्री

राप्तीसोनारी, चैत २७-

आजभोलि एकाबिहानै गाउँपालिकाको कार्यालय वा स्वास्थ्य चैकीमा भेटिन्छिन् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री । यतिमात्र होइन अबेर रातिसम्म पनि कहिले जनताको घरदैलोमा भेटिन्छिन् भने कहिले उही गाउँपालिकाको कार्यालय वा स्वास्थ्य चौकीमा ।
दिनप्रतिदिन महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रवाह नगरिकनै उनको दिन आफ्नो गाउँपालिकावासीको सेवा गर्नमै बित्छ भने कोही गाउँपालिकावासी समस्यामा परेका छन् कि भन्ने फिक्रीमै रात बितेको पत्तो हुँदैन् ।
कोरोना भाइरस कोभिड १९ को महामारीमा लकडाउनले गाउँ, सहर सुनसान छ, गाउँपालिकावासी घर बाहिर निस्कन पाएका छैनन् । त्यस्तो परिस्थितिमा उनीहरुलाई दैनिक उपभोग्य सामग्री आवश्यक पर्‌यो कि वा कुनै समस्या आइपर्‌यो कि भन्ने चिन्ताले सधैँ मन पिरोलिरहने उपाध्यक्ष खत्री बताउँछिन् । त्यसैले पनि होला आजभोलि उनको दिनरात गाउँपालिकावासीको फिक्री गर्नमै बित्छ । साँच्चै भन्नु पर्दा यस विषम परिस्थितिमा हरसम्भव उनी गाउँपालिकावासीको असल अभिभावकको जिम्मेवारी पूरा गरिरहेकी छन् ।
गाउँपालिकावासीको घरदैलोमा गएर कोरोनाबाट बच्न, सजग रहन, सुरक्षाका उपाय अवलम्बन गर्न र अत्यावश्क सामान भएनभएको सोधीखोजी गर्नुले पनि उनी नाममात्रले धनी नभएर मनले पनि उत्तिकै धनीछिन् भन्ने कुराको पुष्टि गर्दछ ।

यतिमात्र नभई मनकी धनी गाउँपालिका उपाध्यक्ष गाउँपालिकावासीको घरदैलोमा गएर विदेशबाट आएका मानिस भेटेर क्वारेन्टाइनमा जान सुझाव पनि दिन्छिन् । स्वास्थ्य चौकी, क्वारेन्टाइनमा आवश्यक स्वास्थ्य सामग्री भएनभएको चासो र चिन्ता लिन्छिन् । दैनिक रुपमा गाउँपालिकावासीको घरदैलोमा पुग्ने, वडाका जनप्रतिनिधिसँग कुराकानी र छलफल गर्ने गरेको उनले सुनाइन् ।
जनता यतिबेला कोरोना रोगको महामारी र लकडाउमा परेको बेला अभिभावकको भूमिका निर्वाह गर्ने अवसर मिलेको बताउँदै उपाध्यक्ष खत्रीले भनिन्,‘ गाउँपालिकावासीको सेवा गर्न पाउँदा   आत्मसन्तुष्टि मिलेको छ । कोहि पनि गाउँपालिकावासीलाई समस्या पर्न नदिनु हामी जनप्रतिनिधिको कर्तव्य पनि हो ।’
बिहान ५ बजेदेखि राति ११ बजेसम्म कहिले फिल्डमै हुने गरेको बताउँदै उनले भनिन्,‘फोन पनि जनताको सेवामा दिनभर व्यस्त हुने गरेको छ। गाउँपालिकावासीको सुरक्षा र उद्वार गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ उपाध्यक्ष धनीकुमारीको व्यस्तता र सहयोगबाट गाउँपालिकाबासीले असल अभिभावक पाएको अनुभव गरेको बताएका छन् ।

Womui
Womui