अन्यत्रबाट भेरीगंगा ७ मा प्रवेश गर्न निषेध

45

सुर्खेत, चैत २३-

कोरोना कोभिड १९ को संक्रमणबाट वडालाई सुरक्षित गर्न वडाबाट बाहिर जान र आउन भेरीगंगा नगरपालिका वडा नम्बर ७ ले निषेधाज्ञा जारी गरेको छ । आइतबार वडा कायार्लयमा बसेको वडापदाधिकारी, कर्मचारी, राजनीतिक दल, सामाजिक संघसंस्था र टोल विकास समितिको सर्वपक्षीय भेलाले वडाबाट अन्य वडा, पालिकामा र बाहिरबाट वडाभित्र प्रवेश गर्न निषेध गरेको हो ।

भेलाले अत्यावश्क काममा अनुमति लिएर आवतजावत गर्न सकिने भएपनि लकडाउनको अवधिसम्मका लागि आवतजावतमा पूर्णरुपमा निषेध गरिएको वडाअध्यक्ष कर्णबहादुर मिजारले जानकारी दिए। दक्षिणमा सल्यान जिल्लाको कालिमाटी गाउँपालिका र पूर्वमा गुर्भाकोट नगरपालिकासँग सीमा जोडिएको भेरीगंगा ७ वडामा अपरिचित व्यतिको आवतजावत हुने र कोरोना भाइरस फैलन नदिन आवतजावतलाई कडा बनाइएको वडाअध्यक्ष मिजारले जानकारी दिए।

नेपाल सरकार मन्त्री परिषद्ले शनिबार एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र स्थानीय निकायबाट अर्को निकायमा जान निषेध र कडाइ गर्ने निर्णयपछि भेरीगंगा ७ ले वडामा आवतजावतमा निषेध गरेको हो। सल्यान जिल्लाका २ र गुर्भाकोट नगरपालिकाका ४ वटा नाकाबाट यस वडामा प्रवेश गर्न सकिन्छ ।

Womui
Womui