एकद्वार प्रणालीबाट राहत वितरण हुन्छः बस्नेत

182

छिनछिन खबर
राप्तीसोनारी, चैत २२–
बाँकेको राप्तीसोनारी गाँउपालिकाले कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनपछि प्रभावित बनेका गाँउपालिकाबासीलाई राहत वितरण गर्ने भएको छ । गाँउपालिकाले अति विपन्न, असाहय र मजदुरीवर्गका नागरिकलाई राहत वितरण गर्ने भएको हो ।
गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गाँउपालिकाले कोरोना भाइरस (काभिड– १९) रोकथामका लागि जारी लकडाउनबाट प्रभावित विपन्न समुदायलाई एकद्धार प्रणालीबाट राहत वितरण गरिने बताएका छन् । राहत वितरणका लागि गाउँपालिकाले तथ्याङ्क संकलनमा कुनै पनि विभेदरहित तरिकाले संकलन गर्न निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सरकारले एकद्धार प्रणालीमार्फत् राहत वितरण गर्ने नीति लिए बमोजिम गाँउपालिकाबाट राहत संकलन तथा वितरण गरिने बताए । गाँउपालिकामा रहेका वडागत तहमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिँदै छिटै राहत वितरण गरिने उनले बताए । कसैलाई भेदभाव नगरी साँच्चिकै राहत पाउनु पर्ने व्यक्ति कुनैपनि अवस्थामा नछुट्ने बस्नेतले बताए । राहत वितरणमा भेदभाव हुँदैन र वितरणका क्रममा खटिने कर्मचारीले भेदभावपूर्ण तरिकाले राहत वितरण गरे कारवाहीसमेत हुने बस्नेतले जानकारी दिए ।
गाँउपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गरिने भएकाले यस्तो विपतको समयमा आफुखुसी राहत संकलन तथा वितरण नगरी एकद्धार प्रणालीमा आउन प्रमुख प्रशासकीय अधिकृत बस्नेतले सबैमा आग्रहसमेत गरेका छन । गाउँपालिकामा तयार पारेको तथ्याङ्क संकलन फारम हरेक वडामा कार्यालयमा पठाई सकिएको र त्यसको तथ्याङ्क संकलनको जिम्मा वडालाई हुने बताइएको छ । वडाबाट आएका तथ्याङ्कका आधारमा गाउँपालिकाले राहत वितरणको मापदण्डका आधारमा मात्रै राहत वितरण गरिने बस्नेतले बताए । आमदानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानि राहत वितरण गरिने बस्नेतले जानकारी दिए ।


राहत सामग्रीमा २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नुन र २ वटा लाईफव्याय साबुनलगायतका सामग्री रहेको उनले बताए । दैनिक ज्यालादारी र मजदुरी गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको छ । दैनिक ज्याला मजदुरीमा काम गर्ने परिवारलाई राहत वितरणमा जसअन्तर्गत २ जना भन्दा बढी परिवार भएका घर परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, २ केजी नुन र २ वटा लाईफव्याय साबुनलगायतका सामग्री दिइनेछ भने २ जनाको परिवार भएका घर परिवारलाई प्रति परिवार त्यसको आधा राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए । गाउँपालिले छिटो भन्दा छिटो तथ्याङ्क संकलन गरी अति आवश्यक राहत सहयोग प्रदान गर्न गाउँपालिकाले कोष समेत स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

Womui
Womui