ग्यास, नुनको अभाव हुँदैनः सरकार

28

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसको बहानामा केहीले कालोबजारी सुरु गरेको बेला सरकारले नेपामला ग्यास, नुन लगायत दैनिक उपभोग्य वस्तुको अभाव नहुने प्रस्ट पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा फोन गर्ने बित्तिकै ग्यास पाउने व्यवस्थाका लागि हटलाइन टेलिफोनको व्यवस्था हुन लागेको बताए ।


कोरोना भाइरसको त्रास देखाएर ग्यास सिलिण्डर अभाव हुने हल्ला फैलाइएको र त्यसको नाममा कालोबजारी हुनसक्नेतर्फ सचेत गराउँदै मन्त्री भट्टले ग्यास मात्र होइन, देशमा कुनै पनि उपभोग्य वस्तुको आपूर्तिमा कुनै गडबडी नरहेको र तत्काल हुने अवस्था समेत नरहेको प्रष्ट्याए ।  त्यस्तै नेपाल आयल निगमले पनि ग्यासको अभाव हुने अवस्था नरहेको प्रस्ट पारेको छ ।

इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मार्च महिनामा ४५ हजार टन ग्यास दिने भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताएका छन् । ४५ हजार टन ग्यास नेपाल ल्याउने विषयमा व्यापारिक सम्झौता भइसकेको र यो परिमाणको ग्यास आएपछि नेपालमा अभाव नहुने उनको भनाइ छ । निगमका अनुसार फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको छ । गर्मी महिना समेत सुरु हुन लागेको र जाडोको तुलनामा यो अवधिमा ग्यासको कम खपत हुने हुँदा अभाव हुने कुनै संभावना नै नरहेको उनको दाबी छ ।

नुन, चिनी र चामलको पनि पर्याप्त मौज्दात
मन्त्री भट्टले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको समेत बताए ।  अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

Womui
Womui