कोरोनासँग नाम मिल्दा अमेरिकी बियर कम्पनी समस्यामा

118

एजेन्सी
काठमाडौं–कहिलेकाही नामकै कारण कतिपय उत्पादनले नसोचेको सफलता पाउँछन् । त्यस्तै कहिलेकाही वर्षौदेखिको अरबौंको लगानी समेत स्वाहा भइदिन्छ । अमेरिकाको एक बियर उत्पादन गर्ने कम्पनीलाई अहिले यस्तै आपत आइलागेको छ । कोरोना भाइरसको प्रभावले विश्व आक्रान्त भइरहेको बेला यो कम्पनीले कोरोनाको नामबाटै वर्षाैं अघिदेखि उत्पादन गर्दै आएको बियरको बजार डामाडोल बनेको हो ।

विश्वको सबैभन्दा चर्चित बियर ब्राण्ड एबी इन्भेवलाई कोरोनाका कारण ठूलो प्रभाव परेको हो । खासमा यो कम्पनीले लामो समयदेखि कोरोना बियर उत्पादन गर्दै आएको थियो, यसको विश्व बजारमा निकै ठूलो माग थियो । तर, जब चीनबाट कोरोना भाइरस फैलिन सुरु भयो, त्यसबेलादेखि नै यो बियरको व्यापार चौपट बनेको मिडिया रिपोर्टहरुमा बताइएको छ । यो कम्पनीले पहिलो चौमासिकमा अरबौं रुपैयाँ बराबरको नोक्सानी व्यहोरिसकेको छ । ब्लुमबर्गको एक रिपोर्टअनुसार कोरोना बियरको विषयमा विश्वभरका मानिसहरुले मजाकले भरिएका भिडियो समेत बनाइरहेका छन् र यस्ता भिडियो सामाजिक सञ्जालहरुमा तीव्र रुपमा सेयर भइरहेका छन् ।

कोरोना बियर भाइरस तथा बियर कोरोना भाइरस नामबाट अनलाइन सर्च समेत अहिले तीव्र देखिएको छ । गुगलको रिपोर्टलाई मान्ने हो भने कोरोनालाई लिएर गत महिना सर्चमा ११०० प्रतिशतको बढोत्तरी भएको छ । अमेरिकामा समेत यो बियरको बिक्री दुई वर्षको न्यून स्तरमा आइसकेको छ । न्यूयोर्कमा यो कम्पनीको सेयरमूल्यमा यो हप्ता ८ प्रतिशतको गिरावट आएको छ । कोरोना बियर अमेरिकाकै तेश्रो ठूलो ब्राण्ड पनि हो । पहिलो नम्बरमा गिनिज तथा दोश्रोमा हेनेकेन ब्राण्ड रहेको छ ।

कम्पनीको पहिलो त्रैमासको कमाईमा १० प्रतिशतको गिरावट आएको छ । कम्पनीको कमाईमा यो अवधिमा करिब ३२ अर्ब रुपैयाँ बराबरको झट्का लागेको छ । कम्पनीले यो नोक्सानी अझै बढ्ने आँकलन पनि सार्वजनिक गरिसकेको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट मर्नेको संख्या विश्वभर २८५८ माथि पुगिसकेको छ । यस्तै, संक्रमितको संख्या करिब ९० हजार पुगिसकेको छ ।

Womui
Womui