दुई दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि

54

छिनछिन खबर
काठमाडौं, भदौ १२

दुई दशकपछि नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि चुमेको छ । साफ यू १९ च्याम्पियनसीप अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा भारतलाई ट्राईब्रेकमा ५–४ ले हराउँदै नेपालले उक्त उपाधि चुमेको हो ।

nepal-and-indianगोलकिपर सोजित गुरुङले भारतीय खेलाडी मोनुद्दिनको पेनाल्टी प्रहार रोकेपछि नेपालको जित सम्भव भएको हो । भारतविरुद्ध खेलको ३० औं मिनेटमा तेज तामाङको गोलसँगै नेपालले अग्रता लिएको थियो । अन्जन विष्टले गरेको कडा प्रहार भारतीय किपरले रोक्दा नेपालले पाएको कर्नरमा तामाङले गोल गरेका हुन् । अनन्त तामाङले गरेको हेड भारतीय किपर स्वस्तिक मुखर्जीको जीउमा लागेर फर्किएपछि तेजले सजिलै बल क्लियर गरी गोलमा परिणत गरेका थिए । निर्धारित समयमै जित नजिक पुगेको नेपाली टोलीको लागि खेलको अन्तिम मिनेट केही निराशानजक रह्यो ।

कप्तान बिमल घर्तीमगरको स्थानमा मैदान प्रवेश गरेका डिफेन्डर दिनेश राजवंशीले पेनाल्टी एरियामा हेन्ड गरेपछि भारतले पेनाल्टी अवसर पाएको थियो । भारतीय खेलाडी सेहबाजले कुनै गल्ती नगरी टोलीलाई बराबरी स्थितिमा ल्याइ पुर्‍याए । खेलको अन्तिम १० मिनेट नेपालले ५ डिफेन्डरसहित रक्षात्मक खेल खेलेको थियो । ट्राईब्रेकरमा नेपालको लागि हेमन्त थापामगर, सुनिल बल, विश्वास श्रेष्ठ, दोना थापा र अनन्त तामाङले गोल गरेका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उपाधि जित्ने नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा गरेका छन् ।

सन् १९९३ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपको गोल्ड मेडल जिते यता यो नै नेपाली फुटबलको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

Womui
Womui