प्रहरी पेसाप्रतिको निराशा बढ्दो, दैनिक ७ जनाले दिन्छन् राजीनामा

47

छिनछिन खबर
काठमाडौं– नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीको जागिरप्रति निराशा बढ्दै गएको पाइएको छ । पछिल्लो साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआइजी) देखि तल्लो तह ( कार्यालय सहयोगी) सम्मका गरी ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो ।

पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेका लागि राजीनामा दिने गरेका छन् । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २ हजार ५६४ प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ डीआइजी, २ डिएसपी, ८ इन्स्पेक्टर, १०४ सइ, ३०७ असइ, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा ३ एसपी, ६ डिएसपी, १५ इन्स्पेक्टर, ९९ सइ, ३५७ असइ, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् । यसैगरी, चालू आर्थिक वर्षको पुस महिनासम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डिएसपी, ६ इन्स्पेक्टर, ८१ सइ, १८९ असए, ७४२ हवलदार, १६० जवान र २९ जना सहयोगी छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले राम्रो अवसर आउँदा मानिसले जुनै पेसा पनि परिवर्तन गर्ने भएकाले पनि प्रहरी संगठनमा पनि त्यस्तो भएको हुनसक्ने बताए ।

Womui
Womui