यो वर्ष २५ लाख बेरोजगार बढ्नेः संयुक्त राष्ट्र संघ

126

एजेन्सी
विश्वभरको अर्थव्यवस्थामा सुस्तता आएसँग बेरोजगारीको समस्या चुलिने भएको छ । संयुक्त राष्ट्र संघको ताजा रिपोर्ट अनुसार हाल विश्वमा करिब ४७ करोड मानिस कि बेरोजगार छन् कि उनीहरुसँग पर्याप्त काम छैन ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्था अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले जारी गरेको रिपोर्ट अनुसार सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने अनुमान रहेको छ ।

रिपोर्ट अनुसार पछिल्लो समय बेरोजगारहरुको संख्यामा लगातार वृद्धि भइरहेको छ । हाल विश्वमा बेरोजगारीको दर ५.४ प्रतिशत रहेको छ । यो दरमा ठूलो परिवर्तन नआएपनि सुस्ताउँदो गतिमा रहेको विश्व अर्थव्यवस्थाका कारण बेरोजगारहरुको संख्या बढिरहेको हो । सन् २०२० मा बेरोजगारहरुको संख्या २५ लाखले बढेर १९ करोड ५ लाख पुग्ने आईएलओको अनुमान छ ।

सन् २०१९ मा उक्त आँकडा १८ करोड ८० लाख रहेको थियो । रिपोर्ट अनुसार विश्वमा करिब २८ करोड ५० लाख मानिसहरुसँग पर्याप्त रोजगार छैन । त्यस्तै १२ करोड मानिसले विकल्प नभएको कारण मन नपरेको काममा चित्त बुझाएर बसेका छन् । कुल ४७ करोड ३० लाख मानिस पूर्ण रुपमा बेरोजगार वा उनीहरुसँग कामको कमी रहेको प्रतिवेदनमा उल्लेख छ । यो विश्वभरमा उपलब्ध श्रमशक्तिको १३ प्रतिशत हो ।

Womui
Womui