चार महिनादेखि बेपत्ता तिलागुफा नगरपालिकाकी उपप्रमुख कहाँ गइन् होला ?

48

छिनछिन खबर
कालिकोट–कालिकोट तिलागुफा नगरपालिकाकी उप–प्रमुख दन्ता नेपाली (दर्शना) ४ महिनादेखि सम्पर्क्विहीन भएकी छन् । असोज महिनामा काठमाडौं जान भनी हिडेकी उप–प्रमुख नेपाली त्यसयता नगरपालिकाका फर्केकी छैनन् ।
उप–प्रमुख नगरपालिकाबाट सम्पर्क्विहीन हुँदा दैनिक कामकाजमा असर परेको छ ।

नगरपालिकाकी उप–प्रमुख नेपाली असोज महिनामा काठमाडौं जानका हिँडेको जानकारी दिएको त्यसयता नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘असोजमा काम विशेषले काठमाडौं जानुपर्ने भो भनेर मलाई जानकारी दिनुभएको थियो,’ प्रमुख शाहीले भने, ‘अहिलेसम्म कता हुनुहुन्छ । कुनै जानकारी छैन । न त उहाँले नै जानकारी गराउनुभएको छ ।’ नगरपालिकाकी उप–प्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परेको प्रमुख शाहीले बताए ।

‘जनताका काम दैनिक रूपमा गर्नुपर्छ । उहाँ केही समितिको प्रमुख हुनुहुन्छ,’ उनले भने, ‘उप–प्रमुख नहुँदा समितिका कामहरू पनि प्रभावित भएका छन् ।’ नगरपालिकाको उप–प्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको अध्यक्ष रहेकोमा अहिले यी कामहरू अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए । ‘उप–प्रमुख नहुँदा योजना कार्यान्वयनमासमेत समस्या परेको छ,’ उनले भने, ‘उहाँ संयोजक रहेका सबै समिति अलपत्र जस्तै छन् ।’ योजना अनुगमन समितिको संयोजक उप–प्रमुख नै रहेका कारण अहिले नगरपालिकाभित्रका कार्य सम्पन्न भएका योजनाको भुक्तानीमा समेत समस्या भएको नगर प्रमुख शाहीले बताए ।

नगरपालिकाकी उप–प्रमुख नेपाली विदेश जान लागेको आफुले सुनेपछि बोलाएर छलफल गरेको कालिकोटबाट प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले बताए । ‘उप–प्रमुख विदेश जाने कुरा सुनेपछि मैले बोलाएर उहाँसँग छलफल गरेको थिए,’ उनले भने, ‘त्यो बेला हल्ला मात्र भएको मलाई बताउनुभयो ।’ आफूले विदेश जाने भए राजीनामा दिएर जानुहोस भनेर पनि सुझाव दिएको सांसद रावतले बताए । ‘विदेश गएर लामो समय बस्ने भए उप–प्रमुखबाट राजीनामा दिएर जानुहोस भनेको थिएँ,’ उनले भने, ‘त्यसबेला यो कुरा स्वीकार गर्नुभएन ।’

सामाजिक सञ्जालमा नेपाली सार्वजनिक गरेको फोटाका आधारमा उनी अमेरिका गएको आशंका गरिएको छ । नगरपालिका प्रतिनिधिले सामाजिक सञ्जालमा उनको अवस्थाबारे सोध्दा कुनै जवाफ नआउने गरेको नगरप्रमुख शाहीले बताए । तर उप–प्रमुखका विषयमा कुनै बुँदा नसमेटिएका कारणले पनि समस्या भएको नगर प्रमुख शाहीले बताए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट १८४३ मत ल्याएर विजयी भएकी थिइन् ।

Womui
Womui