कला, संस्कृतीको संरक्षणमा लाग्न जरुरी : गाउँपालिका अध्यक्ष थारु

175

नेपालगन्ज, पुस २८-
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफ्नो कला, संस्कृतीको संरक्षणमा लाग्न जरुरी रहेको बताएका छन् । माघीको अवसरमा नेपालगन्जमा आयोजित माघी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष थारुले यस्तो बताएका हुन् । हरेक समुदायमा पर्वको आ–आफ्नै महात्व रहेकाले यो कला संस्कृतीको संरक्षण भोली इतिहास बन्ने धारणा राखे । उनले आयोजना गरिएको महोत्सवले पनि थारु समुदायलाई सँस्कृतीको टेवाका लागि सक्रिय बनाउने बताए ।

कार्यक्रममा बाँकेका बिभिन्न क्षेत्रका थारु अगुवाहरुले चाडपर्वले सबै समुदायलाई भाइचाराको सम्बन्ध निर्माणमा जोड दिने गरेकाले सबैको अस्तित्व नै देशको साँस्कृतिक अस्तित्व रहने भनाई राखेका थिए । थारु समूदायले माघे सक्रान्तिलाई नयाँ बर्षका रुपमा मनाउने गरेका छन् । उक्त कार्यक्रममा थारु समुदायको सांस्कृतिक झुम्रा, लठ्ठहवा, हुरदुङग्वा, छोक्रा, मयुर र दफ नाच प्रस्तुत गरिएको थियो ।

महोत्सवमा थारु कलाकार विवश चौधरी, विश्वसागर परियार, करन चौधरी, राम थारु, सुनिता दहित, सुमित्रा चौधरी, राधा चौधरी, खेम भौगरिया, सोहनलाल थारु, प्रमिला थारु, सत्यनारायण चौधरी (फेटारा) देवदास, सविना चौधरी, निरमला चौधरी, राजकुमार चौधरी, संञ्जिता चौधरी लगायतले समेत प्रस्तुती देखाएका थिए ।

यसैगरी चर्चित गायक तथा मोडल श्रीदेवी चौधरीले समेत आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासुका परिकारहरु अथितिहरुलाई खुवाइएको प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले जानकारी दिए । यस्तै कार्यक्रममा थारु कला सँस्कृति र थारु समुदायको लागि योगदान पु¥याएका ५ जना व्यक्तिलाई सम्मान समेत गरियो ।

Womui
Womui