हरेक १० जनाले १३ जना पाल्नु पर्ने, ९ वर्षमा श्रमिकको पारिश्रमिकमा १.८ प्रतिशतले वृद्धि

26

दिलीप शर्मा
काठमाडौं । अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्य कार्यालय भएको यस संगठनमा आवद्ध मुलुकहरूको सङ्ख्या अहिले १८७ पुगेको छ । एक शताब्दीसम्म श्रमिकहरूको अधिकार र विश्वभरको श्रम बजार सुधारका लागि एक शताब्दीको अवधि कम होइन ।

यो अवधिमा सङ्गठनले केही गरेन भन्ने पनि होइन । आइएलओले तथ्यमा आधारित भएर श्रम बजार र श्रमिकका मुद्दालाई उजागर गर्दछ । समस्या परेका ठाउँमा गाँठाहरू फुकाउन सम्बन्धित देशले सङ्गठनप्रति जनाएको प्रतिबद्धता अनुरूप त्यहाँको कानूनलाई सुधार गर्दै सङ्गठनको परिकल्पनालाई साकार पार्नु विश्व समुदायको कर्तब्य हो । विश्वमा भएका द्वन्द्वका घटना विश्व श्रम बजारलाई प्रभावित पार्ने प्रमुख कारक मान्ने गरिन्छ ।

श्रमिकको अधिकारको हनन्का मुद्दा, कामदारको श्रम शोषण वा अन्य अधिकारका लागि संगठनले सम्बन्धित कम्पनी वा फर्मसँग समन्वय गरी काम गर्छ । कतिपय देश र त्यहाँ सञ्चालनमा रहेका सरकारी तथा निजी उद्योग, कम्पनी वा फर्मले आफूलाई केन्द्रित गरेर कानूनहरूको व्याख्या गर्ने प्रचलन आज पनि रहेको देख्न सकिन्छ । यसैका कारण कुनै पनि सङ्गठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न सफलता पाउन कठिनाई पर्ने गर्छ ।

यद्यपि सङ्गठनले लिएका उद्देश्य र विकासको समयक्रमसँगै स्वस्फूर्त रूपमा बनेका आधारभूत सिद्धान्तले विश्वको श्रम बजारलाई निर्दे्शित गर्छ सुधारका लागि उत्प्रेरित गर्छ । विश्वमा अहिले रोजगारी पाएर पनि गरिबीको रेखामूनि रहेको जनसङ्ख्या जम्मा आठ प्रतिशत छ भने करिब ५५ प्रतिशत जनसङ्ख्याले कुनै पनि प्रकारको सामाजिक सुरक्षाको सेवा प्राप्त गर्न सकेको छैन ।
विश्वमा २७ प्रतिशत महिलाले व्यवस्थापकीय जिम्मेवारी पाएका छन् । सन् २०१८ को तथ्याङ्क अनुसार विश्वको श्रम उत्पादकत्व करिब तीन प्रतिशतले वृद्धि भएको छ ।

विश्वमा लिङ्गका आधारमा श्रमिकलाई दिइने पारिश्रमिकको अन्तर औषतमा १९ प्रतिशत रहेको छ । खासगरी उद्योग तथा उत्पादनका क्षेत्रमा महिला र पुरूषको ज्याला निर्धारण वैज्ञानिक तरिकाले नहुँदा श्रम बजारमा लैङ्गिक विभेदका कुरा टड्कारो रूपमा उठ्ने गरेका छन् । दीगो विकास लक्ष्यको पछिल्लो तथ्याङ्क अनुसार विश्वको वेरोजगार दर पाँच प्रतिशत रहेको छ । विश्वका २१ प्रतिशत युवाले रोजगारी, शिक्षा र तालिमका अवसर पाउन सकेका छैनन् ।

१० प्रतिशत बालबालिका श्रमिकका रूपमा प्रयोग भएका छन् भने विश्वको १४ प्रतिशत जनसङ्ख्या निर्माणका क्षेत्रमा काम गर्छन् । विश्वको ५२ प्रतिशत श्रमिकले कामको पारिश्रमिक पाउने गरेका छन् । कृषि र निर्माणका क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला नगन्य हुने गरेको छ । जसका कारण श्रमिकले आफूहरू ठगिएको महशुस गर्ने गर्छन् । विश्वमा पाँच अर्ब ६६ करोड जनसङ्ख्या काम गर्न योग्य रहेको छ । यसको ६१ प्रतिशत रोजगार छन् भने ३९ प्रतिशत निष्क्रिय छन् । जनसङ्ख्या दर अनुसार विश्वको रोजगार दर ५८ प्रतिशत रहेको छ ।

तीन अर्ब ३० करोड जनङ्ख्याले सानो ठूलो रोजगारका अवसर पाएको छ । करिब दुई अर्ब ७२ करोड व्यक्ति वेरोजगार छन् । हरेक १० रोजगार व्यक्तिले बालबालिका, वेरोजगार र बुढाबुढी गरी १३ जनालाई हेनुपर्ने बाध्यता रहेको छ । वेरोजगार युवाको जनसङ्ख्या १२ प्रतिशत रहेको छ । विश्वमा कृषि कामदारका रूपमा झण्डै एक अर्ब जनसङ्ख्याले काम गर्छ । विश्वको २८ प्रतिशत कृषि क्षेत्रमा रोजगार छन् भने २३ प्रतिशत औद्योगिक र ५२ प्रतिशतले निजी तथा सरकारी कर्मचारीका रूपमा जागिरे छन् ।

यसको ४८ प्रतिशत स्वरोजगार जनसङ्ख्या छ । तीन प्रतिशत रोजगार व्यक्ति रोजगारदातासमेत छन् । सन् २००८ पछि सन् २०१७ सम्म आइपुग्दा श्रमिकको पारिश्रमिकमा १.८ प्रतिशत मात्रले वृद्धि भएको छ जबकि महङ्गीले वर्से्नि हरेक देशका नागरिकलाई ढाड सेक्ने गरेको छ । विश्वको जनसङ्ख्याको ४५ प्रतिशत हिस्साले कम्तीमा एउटा सामाजिक सुरक्षाको लाभ लिन्छ । यो दर अफ्रिकामा सबैभन्दा कम १८ प्रतिशत, अमेरिकामा ६८ प्रतिशत, एशिया र प्रशान्त क्षेत्रमा ३९ प्रतिशत छ भने मध्य एशिया र यूरोपमा सबैभन्दा बढी ८४ प्रतिशत रहेको छ । विश्वमा आप्रबासी कामदारको सङ्ख्या १६ करोड चालीस लाख रहेको तथ्याङ्क छ ।

सन् २०१६ को तथ्याङ्क अनुसार आधुनिक दासका रूपमा चार करोड व्यक्तिले विश्वका विभिन्न स्थानमा काम गरिरहेका छन् । यसमध्ये महिला र बालिका (किशोरी) ७१ प्रतिशत रहेका छन् । सन् २०१६ सम्ममा प्रति हजार जनसङ्ख्याको करिब पाँच व्यक्ति आधुनिक दासका रूपमा बाँच्न बाध्य रहेका छन् । विश्वमा करिब १५ करोड २० लाख बालबालिका बाल श्रमिक छन् । ७३ अर्ब बालबालिकाले जोखिमयुक्त काम गर्छन् भने ७१ प्रतिशत बाल श्रमिकले कृषि क्षेत्रमा काम गरिरहेका छन् । पाँच देखि १४ वर्ष उमेर समूहका बालिकाहरूले बालकको तुलनामा प्रत्येक दिन ४० प्रतिशत बढी समय विना पारिश्रमिक घरेलु काम गर्ने गर्छन् ।

यसलाई यो विश्वव्यापी रूपमा हेर्दा कुल जनसङ्ख्याको १६ करोड हुन्छ । विश्वमा महिलाले गर्ने काम पुरूषको तुलनामा पारिश्रमिक र विना पारिश्रमिक गरी प्रतिदिन औषतमा ४४ मिनेट रहने गरेको छ तर पुरूषले महिलाको तुलनामा पारिश्रमिक लिएर गर्ने कामका लागि १३९ मिनेट बढी खर्च गर्ने गर्छ । रासस

Womui
Womui