७ दिनभित्र समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही

137

छिनछिन खबर
काठमाडौं–समायोजन गरिएका तर दरबन्दी भएका ठाउँमा नगएका कर्मचारीलाई सात दिनभित्र हाजिर हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको छ । राजनीतिक पहुँच र प्रभाव प्रयोग गरी राम्रा मानिएका कार्यालयमा बसिरहेका कैयन कर्मचारी समायोजनपछि पनि तोकिएको ठाउँमा पुगेका छैनन् ।

उनीहरुलाई सात दिनभित्र तोकिएको ठाउँमा पठाई दिन मन्त्रालयले सबै निकायमा पत्राचार गरेको हो । मन्त्रालयका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मन्त्रालय, केन्द्र, सचिवालय, आयोग एवं प्राधिकरणमा बसिरहेका कर्मचारीहरु अझै तोकिएको ठाउँमा पुगेका छैनन् ।

‘प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई २१ दिनभित्र रमाना दिई हाजिर हुन पठाउनू हुन भनी यस मन्त्रालयबाट मिति २०७६ भदौ १५ मा पत्राचार गरिएकोमा हालसम्म पनि समायोजन भएको तहमा हाजिर हुन नगएको भनी गुनासो प्राप्त हुन आएकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’ मन्त्रालयले लेखेको पत्रमा भनिएको छ, ‘कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न मितिको निर्णयअनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन भई हाल संघ अन्तर्गतका निकायमा कार्यरत विभिन्न सेवा, समूहका कर्मचारीहरुलाई अनिवार्य रुपमा समायोजन भएको तहमा नियमानुसार ७ दिन भित्र रमाना दिई हाजिर हुन पठाउनु हुन र सोको जानकारी यस मन्त्रालयमा दिनु हुन निर्णयानुसार अनुरोध छ ।’ समायोजन गरिएको ठाउँमा नजाँदा ती स्थानका सेवाग्राहीलाई सेवा पाउन कठिन भइरहेको छ ।

Womui
Womui