ठेक्का नखुल्दा बाँकेका नदी खोलामा चोरको बिगबिगी

165

नेपालगन्ज, पुस ८-
ठेक्का नखुल्दा जिल्लाको राप्ती सोनारी गाउँपालिका क्षेत्रभित्र रहेका नदी तथा खोलामा ब्यापक रुपले चोरी बढेको छ । गाउँपालिकाले नदी तथा खोलाको ठेक्का प्रक्रिया अगाडी बढाएको महिनौं बितिसक्दा पनि स्वीकृत नगर्दा चोरी बढेको हो । समयमा ठेक्का नखुल्दा खुलेआम चोरी बढेको स्थानीय बासिन्दा बताउँछन् । राप्ती सोनारी जिल्लाकै सबैभन्दा बढी नदीजन्य पदार्थ उत्पादन हुने गाउँपालिका हो । गाउँपालिकाले गतवर्ष राप्ती नदी र अन्य खोला नाला गरी करिव आधा दर्जन स्थानमा ठेक्का खोलेको थियो । यसवर्ष पनि उक्त स्थानमा गाउँपालिकाले ठेक्का प्रक्रिया अगाडी बढाएको महिनौं बितिसक्दा पनि अझै स्वीकृत भएको छैन ।

स्थानीय युवाले नियन्त्रणमा लिएको डोजर ।

तस्करले खुलेआम ढुंगा, गिट्टी, बालुवा र ग्राभेल चोरी गरिरहेको स्थानीयले बताएका छन् । नदी तथा खोलामा दिनहुँजसो ट्याक्टर र टिपरमार्फत ढुंगा, गिट्टी, ग्राभेल, बालुवा ओसार्ने गरेका छन् । विशेषगरी रातको मौका छोपेर चोरी तस्करी हुने गरेको बताइएको छ । राप्ती नदी तथा खोला नालाबाट अबैध रुपमा ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल उत्खनन गरी रातारात नेपालगन्ज तथा कोहलपुर पु¥याउने गरिएको छ । यसैक्रममा राप्ती नदीमा अवैध रुपले उत्खनन् गरिरहेको अवस्थामा एक डोजरलाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ आलिनगरस्थित राप्ती नदीमा रातको समयमा उत्खनन गरिरहेको अवस्थामा नम्बर नखुलेको उक्त डोजरलाई नियन्त्रणमा लिइएको हो ।

राप्ती सोनारी–५ बिनौनास्थित गोरधुईका स्थानीय युवाले सोमबार बिहान करिव ५ बजेतिर डोजरलाई नियन्त्रणमा लिएका थिए । ‘रातको समयमा सधैं राप्ती नदीमा डोजर लगाएर अबैध रुपले उत्खनन गरिरहेको सूचना प्राप्त भएपछि त्यहाँ गएर हेर्दा फेला पारेका हौं,’ युवाले भने । नियन्त्रणमा लिइएको उक्त डोजरलाई युवाले वडा कार्यालयमा बुझाएका थिए । वडा कार्यालयले डोजर धनीलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको वडाध्यक्ष झगरु थारुले बताए । ‘नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गराउने ब्यवस्था छ, सोही नियमलाई टेकेर जरिवाना तिरायौं,’ वडाध्यक्ष थारुले भने । ठेक्का स्वीकृत नभएका कारण उक्त क्षेत्रका नदी तथा खोलाबाट निर्माण सामाग्री संकलन तथा ओसार पसार गर्न अहिलेसम्म प्रतिबन्ध लगाइएको छ । तर, रातको समयमा राप्ती नदी लगायत मुगुवा, परुवा, झिझरी, खैरी लगायत खोला नालाबाट ढुंगा, गिट्टी, ग्राभेल र बालुवा ओसार्ने गरिएको स्थानीयले बताएका छन् ।

राप्ती सोनारी गाउँपालिकाले नदी खोलाबाट नदीजन्य सामाग्री उत्खनन्का लागि टेण्डर स्वीकृत नभएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले समयमा टेण्डर स्वीकृत नहुँदा नदी तथा खोलाबाट चोरी बढेको जनगुनासो बढिरहेको बताए । ‘टेण्डर प्रक्रिया ढिलो हुँदा चोरी बढ्ने समस्या देखिएको छ,’ उनले भने । गाउँपालिकाले कानुनी सल्लाहकारको रायका आधारमा टेण्डर स्वीकृतबारे उचित निर्णय लिने माझीले बताए ।

Womui
Womui