कोहलपुर उपनिर्वाचनको मत गणना सुरु

136

कोहलपुर, मंसिर १४-
कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनको मत गणना सुरु भएको छ । कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा केहीबेर अघि मत गणना सुरु भएको हो । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले मत गणना सुरु भएको जानकारी दिए । शनिबार दिनभर चलेको मतदानमा ८०.६५ प्रतिशत मत खसेको उनले बताए । सुवेदीका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

रझेनास्थित सिद्धार्थ आधारभुत बिद्यालयमा सम्पन्न भएको निर्वाचनको ‘क’ मतदान केन्द्रबाट ३ सय ९१ जना पुरुष र ४ सय ३९ महिला गरी कुल ८ सय ३० मत खसेको छ । यसैगरी ‘ख’ मतदान केन्द्रबाट ३ सय ६० पुरुष र ४ सय ४४ महिला गरी कुल ८ सय ४ मत खसेको बताइएको छ । शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान शनिबार बेलुका ५ बजेसम्म चलेको थियो । निर्वाचनका लागि १० जना कर्मचारी तथा ८ जना स्वयं सेवक परिचालित भएका थिए ।

निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका थिए । निर्वाचनका लागि विभिन्न दलबाट प्रतिनिधीत्व गर्दै ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट रामशरण थारु, नेपाली कांग्रेसका श्रीकृष्ण थारु, राप्रपाका श्रीधर सुवेदी, समाजवादी पार्टीको तर्फबाट शोभाकर पोखरेल र नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल प्रतिस्पर्धामा छन् ।

Womui
Womui