जहाज नउड्दा हुम्लाबासी हैरान

72

काठमाडौं–जहाजले उडान नगर्दा हुम्लाबासीलाई जिल्ला बाहिर जानै समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एअरलाइन्सले उडान कम गरेका छन् । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एअरलाइन्सले एक हप्तादेखि र समिट एअरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ ।

तारा एअरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् । निजी एअरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् । काठमाडौंमा अध्ययन गर्दै आएका गोरख तामाङ जहाजको टिकट नपाउँदा हैरानीमा परेका छन् ।

यही २८ कात्तिकदेखि काठमाडौंमा हुने अहेबको परीक्षा दिन जाने टिकटका लागि चार एअरलाइन्सका कार्यालयमा धाउँदा पनि कोही नभेटिएको उनको गुनासो छ । यस्तै सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुखेसो गरेका छन् ।
सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एअरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ ।

सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एअरलाइन्सले नियमानुसार हप्ताको एक उडान भरिरहेको बताए । नेपाल एअरलाइन्सले भने एक हप्तामा तीन उडान गर्ने सहमति गरे पनि हप्ताका दुई उडान गर्दै आएको उनले जानकारी दिए । तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारणको गुनासो छ ।

जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो जनक सुनारले गरेका छन् । नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैं मनाएर जिल्ला बाहिर जानेहरुलाई सास्ती भएको छ । रासस

Womui
Womui