महराको दसैं हिरासतमै बित्यो तिहार पनि हिरासतमै

28

छिनछिन खबर
काठमाडौं, कात्तिक ७ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न कोशिस गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएपछि उनको तिहार पनि हिरासतमै बित्ने भएको छ । उनको दसैं हिरासतमै बितेको थियो । रोशनी शाहीले उजुरी दिएपछि उनलाई महाष्टमीको दिन प्रहरीले पक्राउ गरेको थियो । अब उनीमाथिको अनुसन्धान कात्तिक १४ गतेसम्म सकिसक्नुपर्छ । शुक्रबार नै उनको अनुसन्धान गरेर सरकारी वकिलमा नबुझाए उनी तिहारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ ।

 

सरकारी वकिललाई प्रतिवेदन बुझाए पनि उसले मुद्दा चलाउने नचलाउने निर्णय गर्छ । मुद्दा नचलाए उनी त्यही दिन छुट्छन् । मुद्दा चलाए अदालतले थुनछेक बयान लिन्छ अनि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतबाट उनलाई थुनामा राख्ने कि छोड्ने निर्णय हुन्छ । यो सबै एकैदिन हुनसक्ने संभावना कम भएको सरकारी वकिल कार्यालय स्रोतले बताएको छ । अहिलेसम्म उनको बयान लिने काम सकिसकेको छ ।

रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोेगशालामा पठाएको थियो । कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेको काठमाडौं प्रहरीले जनाएको छ ।

रोशनीको शरीरमा देखिएका र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ । महरा भने गम्भीर बिरामी भएको भन्दै अहिले उनी नर्भिक अस्पतालमा उपचाररत छन् । असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप उनीमाथि लागेको छ ।

Womui
Womui