कांग्रेस नेता, कार्यकर्ता भन्छन्, ‘आन्तरिक गुटबन्दीले पार्टी कमजोर’

131

बाँके(राप्तीसोनारी)- आन्तरिक गुटबन्दीले पार्टी कमजोर हुन पुगेको नेपाली कांग्रेसका नेता, कार्यकर्ताले बताएका छन् । राप्तीसोनारी गाउँपालिकाको अगैयामा बुधबार कांग्रेस क्षेत्र नम्बर १ (क) ले विजया दशमी, दिपावली तथा छठ पर्व २०७६ एवम् नेपाल सम्वत ११४० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा यस्तो बताएका हुन् ।

कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले गुटबन्दीले पार्टी कमजोर भएपनि सबै एकजुट भएमा कसैको ताकत नलाग्ने बताईन् । उनले भनिन्, ‘हामी एकजुट भयौं भने उनीहरुको केही ताकत लाग्दैन, त्यसकारण कांग्रेस एक हुन जरुरी छ ।’ सरकारले शान्ति, सुरक्षा दिन नसक्दा कांग्रेस कार्यकर्ता असुरक्षित रहेको सभापति कोईरालाको भनाई छ । ‘कांग्रेस कार्यकर्तामाथी कम्युनिष्टका कार्यकर्ताबाट खुडा र खुकुरी प्रहार भएको छ, प्रहरी प्रशासन उनीहरुको हातमा छ,’ उनले थपिन् ।

यस्तै पार्टी सचिव तप्त पौडेलले लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक आचरण देखाउन सकियो भने मात्र पार्टी बलियो हुने धारणा राखे । पार्टीको निर्देशिका र बिधानलाई सबैले पालना गर्नुपर्ने बताए । महासमिति सदस्य नारायणप्रसाद गौडेलले विधान अनुसार चलेमा पार्टी बलियो हुने बताए । तर, गतिविधी हेर्दा विधान अनुसार पार्टी र नेताहरु नचलेको धारणा राखे । गौडेलले भने, ‘पार्टीमा जबसम्म चरम गुटबन्दी हुन्छ, त्यसले ठुलो विष्फोट गराउँछ ।’ महासमिति सदस्य हुर्मत न्यौपानेले कांग्रेसको बिधान अनुसार सबै चल्नुपर्ने बताए । कांग्रेस एक भएपछि आगामी निर्बाचनमा पहिलो शक्ति बन्ने उनको भनाई छ ।

कांग्रेस क्षेत्र नम्बर १ (क) का सभापति रामचन्द्र मौर्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, पोषण केसी, दिपनारायण बर्मा, जिल्ला सदस्य पवन शाह, सुधान्सु कोईराला, कृष्ण पौडेल, तुलसीराम थारु, टेकनारायण भुसाल, कांग्रेस नेतृ सतिदेवी ढकाल, केशकुमारी ओली, महाधिवेशन प्रतिनिधी एवम् नेपाल बिद्यार्थी संघका अध्यक्ष पुर्णप्रसाद आचार्य, शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम पार्टीका क्षेत्रीय सचिव डिल्ली गिरीले सञ्चालन गरेका थिए ।

Womui
Womui