कुमार पौडेलको हत्या प्रहरी नियन्त्रणमैः मानवअधिकार आयोग

133

छिनछिन खबर
काठमाडौं–नेत्रविक्रम चन्द नेतृत्व नेतृत्वको नेकपा सर्लाहीका जिल्ला ईन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई गोली हानेर मारेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । प्रहरीले भिडन्तमा मारिएको बताएकोमा आयोगले आफ्नो अनुसन्धानबाट प्रहरीको दावी अनुसारको कुनै प्रमाण नदेखिएको जनाएको हो ।

गएको असार ५ गते सर्लाहीको लालबन्दी –१ स्थित लखनदेही वन नजिकको बाँसघारी मुनि पौडेलको शव भेटिएको थियो । उनलाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा परिचालित प्रहरीले नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको आयोगले जनाएको छ । आयोगको सचिव वेद भट्टराईले विज्ञप्ति प्रकाशित गरी नियन्त्रणमा लिएपछि अनावश्यक रूपमा बल प्रयोग गरेर ९ गोली हानी मारेको अनुसन्धानबाट खुलेको जनाएका हुन् ।

प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको तथा घटनास्थल र लासजाँच प्रकृति मुचुल्का तयार गर्दा पनि ‘मेडिको लिगल’ दृष्टिकोणबाट समेत त्रुटि भएको आयोगको निष्कर्ष छ । आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान र कारवाही गर्न भनेको छ ।

आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह तथा प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ । त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का गर्दा त्रुटिपूर्ण तवरले कार्य गरेकोले सचेत गराउन सिफारिस छ ।

आयोगले भीडन्तमा मृत्यु भएको भनिएका घटना, हिरासत र कारागारमा हुने मृत्यु तथा बलात्कारसम्बन्धी घटनामा २४ घण्टाभित्र अनिवार्य रूपमा आयोगलाई लिखित जानकारी गराउनसमेत भनेको छ ।

Womui
Womui