राप्तीपारिका स्वास्थ्य चौकीमा औषधि अभाव

145

नेपालगन्ज, असोज ५-
बाँकेको राप्तीपारि नरैनापुरका स्वास्थ्य चौकीले यतिखेर औषधि अभाव झेलिरहँदा सिजनल ज्वरोका बिरामीको भने चाप बढेको छ । औषधिको मौज्दात रित्तिएका कारण बिरामी रित्तो हात फर्किन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् । नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया स्वास्थ्य चौकीका प्रमुख सद्दाम हुसेन खाँले आफूसँग अहिले सिटामोलसमेत नरहेको सुनाए । ‘लगभग १० दिन भयो, सिटामोलसमेत सकिएको छ, अरू औषधि त परै जाओस्,’ उनले भने, ‘सिटामोलको विकल्पमा बिरामीलाई ब्रुफिन दिँदै आइरहेका थियौं, त्यो पनि सकियो ।’ औषधि लिन गाउँपालिका कार्यालयमा कर्मचारीलाई पठाए पनि बढी आवश्यक पर्ने सिटामोल र ब्रुफिन नपाएको उनले सुनाए ।

स्वास्थ्य चौकीमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको प्रमुख खाँको भनाइ छ । ‘अचेल दैनिक ५० भन्दा बढी बिरामी आउँछन,’ उनले भने, ‘उनीहरूलाई दिनुपर्ने औषधि हामीसँग छैन ।’ स्वास्थ्य चौकीका सिनियर अहेव प्रेम बुढाले पनि औषधि नहुँदा बिरामीको उपचारमा समस्या भइरहेको बताए । ‘औषधिको समस्या त केही समय पहिल्यै भएको होे तर त्यतिबेला अलिअलि ल्याएर काम चलाइरहेका थियौं,’ बुढाले भने, ‘अहिले सिजनल ज्वरोका कारण बिरामीको चाप एक्कासि बढ्यो अनि औषधिको अभाव सिर्जना भयो ।’ गाउँपालिकाबाट औषधि नै नआएको उनले बताए । स्वास्थ्य चौकीमा बालकदेखि वृद्धसम्मका व्यक्ति उपचारका लागि आउने गरेको बुढाले बताए ।

नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले भने मटेहिया स्वास्थ्य चौकीले केही दिनदेखि औषधि अभाव भएको बताए । उनले गाउँपालिकाले गर्ने औषधि वितरणबारे अनभिज्ञता प्रकट गरे । ‘औषधि नपाएर बिरामी स्वास्थ्य चौकीबाट फर्किरहेका छन् । धेरै समस्या भइरहेको छ । औषधि अभाव हुँदा मेरो पनि टाउको दुखाइ भइरहेको छ,’ उनले भने, ‘गाउँपालिकाले औषधि पु¥याउन किन सकिरहेको छैन, यसबारेमा मलाई थाहा छैन ।’ गाउँपालिकाले औषधि आपूर्ति राम्ररी गर्नै नसकेको मौर्यले सुनाए । मटेहिया स्वास्थ्य चौकीमा जस्तै नरैनापुरका अन्य स्वास्थ्य चौकीमा पनि औषधी समस्या बारम्बार निम्तिने गरेको पाइएको छ । गाउँपालिकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलवाड गरेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘पहिला जनस्वास्थ्य कार्यालय मातहत हुँदा औषधि अभाव हुँदैनथ्यो, तर अहिले अभाव छ,’ राप्तीपारिका एक स्वास्थ्यकर्मीले भने । स्वास्थ्य चौकीहरूमा औषधिसँगै परिवार नियोजनका अस्थायी साधनको पनि अभाव देखिएको छ ।

गंगापुर स्वास्थ्य चौकीका प्रमुख नवीन बुढा क्षेत्रीले पनि औषधिको मौज्दाता निकै कम रहेको बताए । ‘औषधिको स्टक एकदमै कम छ,’ उनले भने, ‘परिवार नियोजनका अस्थायी साधन, भिटामिन, मलमजस्ता साधन र औषधिको हामीकहाँ अभाव छ । यी साधनहरू प्रदेश सरकारले पठाउनुपर्ने हो तर पर्याप्त मात्रामा आएको छैन ।’ नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले गत वर्ष खरिद गरिएको औषधिबाट अहिलेसम्म काम चलाइरहेको बताए । ‘अहिले स्वास्थ्य चौकीमा सायद गत वर्ष अन्तिमतिर खरिद गरेर पठाएको औषधि हुनुपर्छ, यस वर्ष त औषधि खरिद गरेका छैनौं ।’

-नागरिक दैनिकबाट

Womui
Womui