आक्रमण गर्नेलाई पक्राउ र कारबाही नगरेसम्म सदन चल्न दिन्नौ : सभापति देउवा

175

दाङ, भदौं २७-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । दाङको घोराहीमा शुक्रबार बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले बाँकेमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जनजागरण कार्यक्रममा आक्रमण गर्ने दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरे । ‘म यहीबाट के भन्न चाहान्छु भने हाम्रो कार्यक्रमाथि आक्रमण गर्नेलाई पक्राउ र कारबाही नगरेसम्म हामी सदन चल्न दिंदै दिदैनौं,’ सभापति देउवाले भने ।

दोषीलाई पक्राउ गरी कारबाही नगरे बाँकेका प्रहरी प्रमुख र सिडिओलाई बोलाएर बयान लिने सम्म उनले चेतावनी दिए । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने र आफ्ना कुरा राख्न पाउने अधिकार सबैलाई भएपनि अधिनायकवादी सोच भएकाहरुले कोठाभित्रै भएको कार्यक्रममा प्रवेश गरी पार्टी सभापति समेतको हात भाँच्नुले लोकतन्त्र छ भन्ने आधारहरु नरहेको सभापति देउवाले तर्क गरे । तानाशाह र अराजकता प्रर्दशन गर्ने नेपाल कम्युनिष्ट पार्टीलाई लोकतन्त्रको डम्फु नबजाउन सुझाव दिए । ‘हाम्रो कार्यक्रममा आक्रमण गर्ने हाम्रो सभापतिको हात नै भाँचिदिने,’ आक्रोस पोख्दै देउवाले भने ‘हामीले पनि त्यस्तै गरे के हुन्छ ?’

काँग्रेसले पनि चाहेमा नेकपाको कार्यक्रमहरु भाँड्न र बिथोल्न सक्ने उनले चेतावनी दिए । कम्युनिष्ट सरकार र कम्युनिष्ट व्यवस्था फरक कुरा भएको भन्दै सभापति देउवाले कम्युनिष्ट व्यवस्था एकदलीय अधिनायकवादी हुने बताए । अहिलेको सरकारले स्वतन्त्र प्रेस, सूचनाको हक, मानवअधिकार आयोग लगायतलाई कुण्ठित पार्न खोजेको हुँदा यो सरकार पनि अधिनायकवादी चरित्रको भएको दाबी गरे ।

Womui
Womui