डुडुवामा डेंगु रोगबारे टोल टोलमा सचेतना फैलाईने

152

नेपालगन्ज, भदौं २७-
देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेको डुडुवा गाउँपालिकाले विशेष सतकर्ता अपनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार सरोकारवालासँग अभिमुखीकरणसहित संयुक्त बैठक गरेको छ । बैठकले असोज ५ गतेभित्र सबै वडामा सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका बिभिन्न सार्वजनिक स्थान, बिद्यालय, मदरसा लगायत स्थानमा डेंगु रोगको परिचय, लक्षण तथा अपनाउनुपर्ने साबधानी लगायतका विषयमा प्रवचन, पोष्टर, पम्पलेटको माध्यमले ब्यापक प्रचार-प्रसार गर्ने निर्णय भएको छ । कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले डेंगु रोगको संक्रमणका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य रिता परियार लगायतले डेंगु रोगको संक्रमण, जोखिमबाट बच्ने उपाय तथा समुदायमा स्वास्थ्य सचेतना कार्यक्रमका विषयमा आफ्नो सुझाव दिएका थिए । वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो । गाउँपालिकाले विभिन्न टोलमा लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किरहेको छ । औलो रोगको समेत उच्च जोखिममा रहेको डुडुवा गाउँपालिकामा लामखुट्टेका लार्भा बढी सक्रिय भएकाले त्यसलाई नष्ट गर्न औषधी छर्कने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले यो अभियानले डेंगु रोगको संक्रमण फैल्नबाट जोगाउने भन्दै अब प्रत्येक टोल समुदायमा यसबारे जनचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै शुरु गरिएको बताए । अहिले मौसमी रुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका विरामी डुडुवामा बढी देखिएका छन् । गाउँपालिका अन्र्तगतका बिभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले दैनिक रुपमा ३५० बढी विरामी उपचारका लागि आउने गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले सुुरु गरेको निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत सञ्चालित दुई वटा प्रयोगशालामा टाईफाइट, मलेरिया परिक्षण गराउने बिरामीको संख्या समेत बढ्दै गएको छ ।

Womui
Womui