निजामतीको समावेशी व्यवस्थामा हेरफेर, जनजाति, मधेसी, अपांगताको कोटा घटाइने

121

छिनछिन खबर
काठमाडौं–निजामती सेवाको पदपूर्तिसम्बन्धी विशेष व्यवस्थामा हेरफेर हुने भएको छ । आदिवासी जनजाति, मधेसी, अपांगता भएका व्यक्तिले पाउँदै आएको सुविधा कटौतीको प्रस्ताव गरिएको छ । यसबाटै मुस्लिम र थारुलाई छुट्टै व्यवस्था गरिएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न विधेयकमा यससम्बन्धी व्यवस्था छ ।

जसअनुरुप महिला ३३, आदिवासी जनजाति २४, मधेसी २०, दलित नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्र चार र अपांंगता भएकाले तीन प्रतिशत सुविधा पाउने उल्लेख छ । निजामती सेवा ऐनमा जनजातिलाई २७, मधेसी २२ र अपांगतालाई पाँच प्रतिशत कोटा छुट्ट्याइएको थियो । यसअघि थारु र मुस्लिमलाई विशेष व्यवस्था थिएन ।

संघीय निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत छुट्ट्याई त्यसलाई शतप्रतिशत मानी यी उम्मेदवारबीच मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने विधेयकमा उल्लेख छ । पिछडिएको क्षेत्रमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगुु र हुम्ला पर्छन् । महिला, जनजाति, मधेसी, दलित, थारु र मुस्लिम भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, जनजाति, मधेसी, दलित, थारु र मुस्लिम सम्झिनुपर्ने प्रस्ताव गरिएको छ ।

Womui
Womui