मलेसिया रोजगारी खुलाउन भदौ २४ र २५ गते प्राविधिक कमिटीको बैठक बस्दै

166

छिनछिन खबर
काठमाडौं– मलेसिया रोजगारी सुचारु गर्न भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ । दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।

मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र ‘मोडालिटी’ तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका दुई सहसचिव, परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ । दुई मुलुकबीच श्रम समझदारी भएको १० महिना भइसक्दा पनि मलेसिया रोजगार नियमित हुन सकेको छैन ।

पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाडौँमा बसेको थियो । नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठ २ नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।

Womui
Womui