नेपालगन्ज–रारा उडान बन्दले यात्रु मर्कामा, कहिले सुचारु होला उडान ?

122

छिनछिन खबर
मुगु– नेपाल एअरलाइन्सको नेपालगन्ज–रारा हउडान बन्द हुँदा यात्रु मारमा परेका छन् । २०६३ असार १३ देखि उडान गर्दै आएको नेपाल एयरलाइन्सको चार महिनादेखि रारा उडान बन्द गरेको हो । बन्द हुनुअघि सातामा दुई उडान हुँदै आएको थियो ।

गत वैशाख २६ गतेदेखि एयरलाइन्सले कुनै जानकारी नदिई यात्रुलाई दिँदै आएको सेवा बन्द गरेको हो । वाइ–१२ ई–साइनका चीनबाट ल्याएका र अन्य ट्वीनअटर विमानले नेपालगन्जबाट जुम्ला, हुम्ला, बाजुरा, साँफेबगर, रुकुम र डोल्पामा आफ्ना उडान गरेर यात्रुलाई सेवा दिँदै आएका थिए ।

चीनबाट ल्याइएका विमानको समेत रारा विमानस्थलमा सफल परीक्षण भइसकेको छ । अन्य ट्वीनअटरले विसं २०६३ असारमै परीक्षण गरेर हप्तामा दुई उडान गर्दै आएका थिए । यी जहाजले अन्य जिल्लामा उडान गर्दै आए पनि रारा विमानस्थलमा भने वैशाख २६ गतेदेखि उडान गरेको छैन ।

आफ्ना हरेक उडानमा नेपाल सरकार तथा विदेशी निकायका विशिष्ट व्यक्तिका लागि दुई, बिरामी, अपाङ्गता भएका व्यक्तिका लागि र विद्यार्थीका लागि एक÷एक सिट विशेष प्रथामिकतामा छुट्याउने गरेकाले प्रायः यात्रु नेपाल एयरलाइन्सबाटै यात्रा गर्ने गरेका थिए । निजी जहाजभन्दा भाडादर केही सस्तो भएकाले सर्वसाधारण यात्रु नेपाल एयरलाइन्समै यात्रा गर्ने गरेका थिए । व्यवस्थापकीय कारणले गर्दा वैशाखदेखि सेवा बन्द भएपछि स्थानीय तथा अन्य यात्रु मर्कामा परेका एयरलाइन्सका रारा विमानस्थल इन्चार्ज वीरेन्द्रबहादुर मल्लले बताए ।

नेपालगन्ज–राराका लागि नेपाल एयरलाइन्सले प्रतियात्रु पाँच हजार २३५ रुपैयाँ भाडा निर्धारण गरेको छ । निजी एयरलाइन्सले प्रतिव्यक्ति पाँच हजार ७३५ रुपैयाँ निर्धारण गरेका छन् । नेपालगन्जदेखि रारा विमानस्थलमा हाल तारा, सीता र समिट एयरले दैनिक दुईदेखि चारसम्म उडान भर्ने गरेका छन् ।

नेपाल एयरलाइन्सको व्यवस्थापनको कमजोरीले गर्दा यात्रुले बाध्य भएर निजी एयरलाइन्सको सेवा लिनुपरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्ल बताउँछन् । यात्रुको सहजताका लागि रारा विमानस्थल र सदरमुकाम गमगढीमा नेपाल एयरलाइन्सले टिकट बिक्री काउन्टर स्थापना गरेको छ।

चार महिनासम्म सेवा बन्द भएको भए पनि दुवै स्थानमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्मचारी काउन्टर खोलेर बस्ने गरेका छन् । सेवा कहिलेबाट सञ्चालन हुने कसैलाई जानकारी नभएको कर्मचारी बताउँछन् ।

Womui
Womui