नेपाल टेलिकमको रोमिङ सेवा ८७ देशमा

104

छिनछिन खबर
काठमाडौं– नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा रोमिङ सेवाको सुविधा उपलब्ध गराएको जनाएको छ । टेलिकमले ती देशका १९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।


तीमध्ये ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो । जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेकाले रोमिङ सुविधापश्चात भारतमा आगमन कलको शुल्क प्रतिमिनेट १४ रुपैयाँ लाग्ने वैद्यले बताइन् । यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्छ । त्यस्तै चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ लाग्छ ।

कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजार रुपैयाँबाट घटाएर १० हजार रुपैयाँ कायम गरिएको नेपाल टेलिकमले जनाएको छ । रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् ।

प्रिपेड मोबाइलमा अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा लिनका लागि स्टार १४१५ ह्यास डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिन्छ । पोष्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्दछ ।

Womui
Womui