अमेरिकाको नयाँ आप्रवासन नीति, नेपाली पनि प्रभावित हुने

47

एजेन्सी
वाशिंटन डीसी– अमेरिकाले नयाँ आप्रवासन नीति ल्याएको छ । जुन नीतिका कारण अमेरिकामा बस्दै आएका र जान चाहने नेपालीसमेत प्रभावित हुने भएका छन् । नयाँ नीति अनुसार अमेरिका जान चाहने नेपालीले यसअघिको भन्दा बढी आयस्रोत देखाउनु पर्नेछ ।

त्यस्तै अमेरिकामा वैध रुपमा बसोबास गरिरहेका आप्रवासीले कुनै सामाजिक कार्यक्रमबाट फाइदा लिइरहेको भए उनीहरु समेत अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्डका लागि अयोग्य हुने नयाँ नीतिमा उल्लेख छ । अब अमेरिका प्रवेश गर्नुभन्दा पहिले सम्भावित आप्रवासीले अध्यागमन अधिकारीलाई आफूले कुनै सामाजिक कार्यक्रमबाट फाइदा नलिने विश्वस्त पार्नुपर्ने हुन्छ । त्यसो गर्न नसकेको खण्डमा आप्रवासीलाई अमेरिका प्रवेश पाउने छैनन् ।

अमेरिकाको अध्यागमन तथा नागरिकता सेवाका कार्यकारी निर्देशक केन कुचनेलीले नयाँ नियम सार्वजनिक गर्दै अमेरिका आउने आप्रवासीहरु सामाजिक कार्यक्रममार्फत अमेरिकी करदाताका लागि भार बन्दै आएका कारण यस्तो नियम ल्याइएको बताए । यसअघिका आप्रवासीहरुले आफ्नै क्षमताका आधारमा अमेरिकामा बसोबास गरिरहेका कारण अब अमेरिका आउने आप्रवासीले पनि त्यस्तै गर्नुपर्ने उनको भनाइ छ ।

उच्च आयश्रोत देखाउनु पर्ने नियमका कारण वर्षमा ३ लाख ८३ हजारभन्दा बढी प्रभावित हुनसक्ने अनुमान सञ्चार माध्यमहरूले गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति अनुसार नयाँ नियम सार्वजनिक गरिएको हो । राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहने आप्रवासीलाई दक्षता तथा प्रतिभाका आधारमा आउनुपर्ने बताउँदै आएका छन् ।

यसबाट अमेरिका आउने आप्रवासीको सङ्ख्या धेरै नै कटौती हुने तथा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई सजिलै ग्रिनकार्ड अस्वीकार गर्न बाटो खुल्ला हुने विश्लेषण गरिएको छ ।

Womui
Womui