बाँकेका थारु समुदायले गुरिया पर्व मनाए

312

नेपालगन्ज, साउन २०-
बाँकेका थारु समुदायले ‘गुरिया’ पर्व सोमबार धुमधामका साथ मनाएका छन् । जिल्लाका विभिन्न स्थानबाट नेपालगन्जमा भेला भएर उनीहरुले सामुहिक रुपमा उक्त पर्व मनाएका हुन् । थारु समुदायका अगुवा समेतको उपस्थितीमा नेपालगन्जको धम्बोझी चोकमा सोमबार बेलुका उनीहरुले सामुहिक रुपमा मनाए । थारु पहिरनमा सजिएका युवा/युवतीले नाँचगान गर्दै गुरिया बिर्सजन गरेका थिए । थारु समुदायको अनौठो पर्वको रुपमा रहेको गुरिया हेर्नेको ठुलो भिड नै लाग्यो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गुरिया पर्व थारु समुदायको साँस्कृतिक पर्व रहेको बताए । उनले भने, ‘थारु समुदायले वर्षभरी मनाउने चार वटा पर्वमध्ये गुरिया सुरुको पर्व हो, बर्खायाममा रोगब्याध र बोक्सी लाग्दैन भनेर यो पर्व मनाइने गरिन्छ ।’ थारु समुदायको यस्ता सँस्कृतिलाई जोगाउन जरुरी रहेकोमा जोड दिदै उनले अन्य समुदायलाई पनि थारु समुदायका पर्वबारे जानकारी दिनुपर्ने सुझाव दिए ।

सो क्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी, थारु कल्याणकारिणी सभाका सन्तोष चौधरी लगायतलेगुरिया पर्व थारु समुदायको साँस्कृतिक पर्व रहेको बताएका थिए । सो क्रममा थारु युवा÷युवतीले विभिन्न नृत्य प्रस्तुत गरे । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद चौधरीका अनुसार थारु सँस्कारमा गुरिया पर्वलाई ‘बोक्सी’ लाई पिट्ने पर्वका रुपमा लिईन्छ । ‘थारु समुदायका पुरुष र महिला जम्मा भएर गुरही बनाएर चउरमा लैजाने, त्यसपछि पिट्ने गरिन्छ,’ उनले भने ‘यो हाम्रो साँस्कृतिक पर्व हो, गुरिया पर्व मनाएपछि बोक्सी नलाग्ने र रोग ब्यथा नलाग्ने विश्वास गरिन्छ ।’

गुरिया बिर्सजन गरिसकेपछि चना र भुजाबाट बनेको घुग्री बाड्ने प्रचलन रहेको थारु अगुवा बताउँछन् । गुरिया पर्वलाई गाउँ, घरतिर सामुहिक रुपमा मनाउने गरेपनि नेपालगन्जमा पहिलो पटक औपचारिक कार्यक्रम गरेर मनाइएको थारु अगुवाले बताएका छन् । नेपालगन्जमा सोमबार थारु कल्याणकारिणी सभासहित थारु पत्रकार संघ, थारु बिद्यार्थी परिवार, थारु कलाकार संघ र मुक्त कमलरी विकास मञ्चले संयुक्त रुपमा कार्यक्रम गरेर मनाएका हुन् ।

Womui
Womui