११ वर्षपछि बन्यो माथिल्लो त्रिशूली थ्री ‘ए’

125

रासस
काठमाडौं–नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैंले सबभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जस लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ ।

त्यसका विपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ । राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन् । एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्दछ । कुनै समय देशबाट विद्युतभार कटौतीको अन्त्य हुन्छ भन्दा धेरैले पत्याएका थिएनन् । धेरैले नपत्याएको त्यो काम सम्भव भयो । समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो ।

जटिल समस्यामा फसेको आयोजनालाई सफल बनाउनुपर्छ भन्ने हिम्मतका साथ एकाध मान्छे मात्रै ताते भने पनि जटिलताको चक्रव्यूँहमा फसेका आयोजनालाई उर्तान सक्छन् भन्ने तथ्य पुनः स्थापित भएको छ । कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध। निर्माण व्यवसायीका अनावश्यक सर्त।

पटकपटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण । र, समयमै सम्पन्न गर्ने उद्घोष पनि। तर आयोजनाले गति लिन सकेको थिएन। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन । समय बदलियो, सबै खालका विवादसमेत समाधान भयो । प्राधिकरणले पनि नयाँ नेतृत्व पायो। सरकारले आयोजनामा कुनै पनि खालको अवरोध हुन नदिने दृढता व्यक्त गर्‍यो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गराउन हर प्रकारको सहयोग उपलब्ध गरायो । जसका कारण लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरूपमा निर्माण सम्पन्न भएको छ ।

आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित विद्युत् विद्युत गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत् काठमाडौंको मातातिर्थमा रहेको सवस्टेसनमा जोडिएको छ । लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ।

झण्डै रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामयावी परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना आज औपचारिकरूपमा सम्पन्न भएको छ । आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल नै पुगे। प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुसी साटे ।

आयोजनास्थल नुवाकोट र रसुवाको सीमामा पुगेका घिसिङलाई ‘कति मेहेनत लाग्यो, एउटा आयोजनालाई पूरा गर्न ?’ सोध्दा उनले भने ‘दैनिक जसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहेनत र प्राधिकरणको निरन्तरको प्रयासपछि बल्ल खुसीको अनुभूति गर्न पाएको छु ।’

‘गोरखा भूकम्प’ पछि सबभन्दा जटिल समस्यामा फसेको आयोजना सुरू गर्न नै ठूलो मेहेनत परेको स्मरण गर्छन् घिसिङ। निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम लगाउनु नै सबभन्दा गाह्रो काम थियो । इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग ठेक्का सम्झौता भएको थियो ।

भूकम्पले बाँधस्थलमा सबभन्दा ठूलो समस्या पारेको थियो। पहुँचमार्ग भूकम्पले ध्वस्त बनाएको थियो। जिम्मेवारी लिन कोही तयार नभएका बेला नेपाली सेनाले पहुँचमार्ग बनाइदियो । निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम गराउनदेखि हरेक दिन के भइरहेको छ भन्ने चासो राख्नेदेखि हरेक महिनाजसो आयोजनास्थल पुगेर आयोजनालाई सफल बनाएको विवरण सुनाउँछन् घिसिङ । उनी भन्छन्, ‘प्राधिकरणका सबै क्रोनिक आयोजना अब पूरा भए भन्ने स्थानमा आइपुगेको छु । यसले सुखद् भविष्यका लागि मार्ग प्रशस्त गरेको छ। नयाँ आयोजना बनाउने उत्साहसमेत थपेको छ ।’

बुधबारदेखि सुरू भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ। केही दिनपछि व्यवसायिक उत्पादन सुरू हुनेछ। आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक एक करोड ५० लाख रुपैयाँ बराबरको कमाइ गर्न थाल्छ। राजधानी काठमाडौंको विद्युत् वितरणलाई थप विश्वसनीय बनाउनसमेत बल पुग्नेछ ।

कुलेखानी तेस्रोको पनि काम सकिएपछि प्राधिकरणले रुग्ण आयोजना पालेर बसेको छ भन्ने गुनासो पनि सकिनेछ। प्राधिकरण अब साना आयोजनामा होइन ठूला आयोजना ‘छलाङ’ हान्दैछ । घिसिङ भन्छन्, ‘क्रोनिक बनेका आयोजना सम्पन्न भएको छ। अब हामी केही ठूला परियोजना अगाडि बढाउने अवस्थामा पुगेका छौं । नयाँ आयोजना सुरू गर्न पनि बल मिलेको छ ।’ केही जलाशयुक्त आयोजनाको सुरूआत गर्दैछ प्राधिकरण, उनले थपे। कम्पनी ढाँचामा केही ठूला अयोजना सुरू गर्ने योजनासमेत उनले सुनाए ।

माथिल्लो त्रिशूली थ्री एको विद्युतले राष्ट्रियरूपमा आठ प्रतिशतको हिस्सा राख्दछ । यस्तै प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्छ। सानो मेहेनत परेको छैन आयोजना सम्पन्न गर्न। आधा दर्जन मन्त्री, सोही सङ्ख्यामा सचिवको चासो, प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालयसम्मको निगरानी । संसदीय समितिको पनि उस्तै तिखो नजरको सामाना गरेर आयोजना सफल बनाएर उत्साहित देखिएका घिसिङले भने, ‘मलाई बल्ल खुसी हुने स्थानमा आइपुगे जस्तो लागेको छ ।’

पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री वर्षमान पुनले पनि आयोजनाको विवरण हरेक दिन माग्दै समस्याको समाधानमा विशेष पहल गरे । आयोजनालाई समस्यामा पारी रहने प्रवृत्तिप्रति असाध्यै सचेत देखिएका मन्त्री पुनले कार्यकारी निर्देशक घिसिङलाई कुनै पनि समस्या आउन नदिन र चनाखो भएर हेर्न बारम्बार निर्देशन दिएका थिए ।

मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । मन्त्री पुनको सोही निर्देशन र चासोले आज आइपुग्दा आयोजना सफलताको शिखरमा उक्लिएको छ । ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै समस्यै समस्याको उल्झनमा फसेको आयोजनाले सफलताको यात्रा तय गरेको छ ।विसं २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको आयोजना सुरूमा २०७१ साल जेठ १७ गते सक्ने लक्ष्य राखिएको थियो ।

क्षमता बढाउने विवाददेखि भूकम्प, नाकाबन्दीको समस्यामा फसेको आयोजना ११ वर्षपछि सकिएको छ । प्राधिकरण चिनियाँ कम्पनी गेजुवाबीच आठ करोड ९१ लाख ७८ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो । रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन । थोरै मान्छेले मात्रै अप्ठ्यारो कामलाई सफल बनाउँछन् र आफ्नो नाम राख्छन् भन्ने तथ्य पुनःस्थापित भएको छ ।

नुवाकोटको किस्पाङ–५ सिम्लेमा पुगेका घिसिङले अन्त्यमा भने, ‘आयोजना सफल बनाउन प्राधिकरणका कर्मचारी जस्तै सञ्चारकर्मीको पनि उत्तिकै हात छ, उहाँहरूलाई पनि मेरो बधाई छ है।’

Womui
Womui