२ सय ४ म्यानपावरको काम रोक्का, कारबाही अघि बढ्यो

34

छिनछिन खबर
काठमाडौं– वैदेशिक रोजगार विभागले २ सय ४ म्यानपावर कम्पनीको काम रोक्का गरेको छ । रोक्का राखिएका म्यानपावरलाई कारवाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको काम रोक्का गरेको विभागले जानकारी दिएको हो । कामकारवाही रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सवै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा गर्ने ऐनमा व्यवस्था भएको विभागले जनाएको छ ।

कामकारवाही रोक्का गरिएका म्यानपावरले रोक्का फुकुवा नगरेसम्म कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका काम गर्ने नपाउने ऐनमा व्यवस्था छ । ऐनमा व्यवस्था भएअनुसार कामकारवाही रोक्का गरेका म्यानपावरले पूर्व र अन्तिम श्रम स्वीकृति निकाल्न पाउँदैनन् । विभागले पटक पटक कामदार पठाएको, म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको जानकारी दिएको छ ।

विभागले गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको निर्देशक भोला गुरागाँईले बताए । ‘मुद्दाको प्रकृति हेरी म्यानपावरको कामकारवाही रोक्का हुन्छ’, उनले भने, ‘रोजगार पीडितले विभागमा उजुरी गरेपछि म्यानपावरलाई समस्या समाधान गर्न भन्छौं ।’ विभागको आग्रह नमान्ने म्यानपावरको तत्काल कामकारी रोक्का गरेर कारवाही अगाडि उनले बताए ।

विभागले धेरै संख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको पनि कामकारवाही रोक्का गरेका छ । विभागले चालु आर्थिक वर्ष सुरु भएको दुई हप्तामा करिब ६० वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको छ । पछिल्लो समय विभागमा म्यानपावरका विरुद्ध आर्थिक ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम पठाएको, नक्कली डिमाण्डमा झुक्याएर विदेश पठाएको, सरकारले तोकेभन्दा तीन गुणा बढी रकम कामदारसँग लिएको, समस्यामा परेका कामदारको उद्धार गर्ने चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट एजेन्टले ठगी गरेको भन्दै पीडित विभागमा धाउने गरेका छन् । विभागमा गत वर्ष म्यानपावरका विरुद्ध १ हजार २ सयभन्दा बढी उजुरी दर्ता भएका थिए । ती उजुरीमा ७८ करोडभन्दा धेरै विगो दावी गरिएको छ ।

Womui
Womui