अर्थतन्त्र संकटमा, बजेटभन्दा ब्यापार घाटा बढी

44

प्रशिद्धिका खड्का
काठमाडौं–आयातजन्य वस्तुको खरिद बढ्दै जाँदा अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको छ । हुँदा हुँदा देशको कुल बजेटभन्दा व्यापार घाटा बढी हुन पुगेको छ । गत आर्थिक वर्षमा १३ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा मुलुकले बजेटभन्दा पनि ठूलो आकारको ब्यापार घाटा ब्यहोर्नु परेको छ ।

देशबाट बाहिरिने भन्दा भित्रिने वस्तुको मात्रा बढ्दै जाँदा ब्यापार घाटा चुलिँदै गएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मुलुकले १३ खर्ब २१ अर्ब रुपैयाँ बराबरको ब्यापार घाटा ब्यहोर्नु परेको छ । जुन गत वर्षको बजेटभन्दा झण्डै ६ अर्ब रुपैयाँले धेरै हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा एक खर्ब ५८ अर्बले समेत बढेको छ ।

गत वर्षको असार मसान्तसम्ममा बिभिन्न देशबाट १४ खर्ब १८ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात भएको छ भने ९ अर्ब ७१ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १२ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा गत वर्ष मालवस्तुको आयात १३.९३ प्रतिशतले बढेको हो । गत वर्षको १२ महिनामा कुल १५ खर्ब १५ अर्ब रुपैयाँ बराबरको बैदेशिक ब्यापार भएकोमा १३ खर्ब रुपैयाँ भन्दा धेरैको ब्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।

नेपालले गत आर्थिक वर्षमा १५८ वटा देशसँग ब्यापार गरेको थियो । नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ भने अर्को चीनसंग पनि ब्यापार घाटा ठूलै छ । गत आर्थिक वर्षमा नेपालले भारतँंग मात्रै ८ खर्ब ५५ अर्ब रुपैयाँको ब्यापार घाटा ब्यहोर्नु परेको छ । त्यस्तै चिनसंग २ खर्ब ३ अर्ब रुपैयाँ बराबरको ब्यापार घाटा ब्यहोरेको छ भने अन्य १३६ वटा राष्ट्रसँगको ब्यापार घाटामा रहेको देखिन्छ ।

नेपालको वैदेशिक व्यापारमा चीन र भारतको ठूलो हिस्सा रहेको छ । गत आर्थिक वर्षमा नेपालले भारतबाट मात्र ९ खर्ब १७ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ६२ अर्ब ७३ करोड बराबरको सामान निर्यात गरेको छ । त्यस्तै चीनबाट २ खर्ब ५ अर्ब रुपैयाँ बराबरको बस्तु आयात गर्दा २ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात गरेको छ ।

Womui
Womui