छोराछोरी लागू पदार्थको दुव्र्यसनमा फसेका छन् ? यसरी थाहा पाउने

261

छिनछिन खबर
काठमाडौं–यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ । शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् । उनीहरु लागुपदार्थको दुव्यर्सनमा फसेका हुन सक्छन् ।

पछिल्लो सरकारी तथ्यांक अनुसार १ लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये ७ प्रतिशत महिला छन् । प्रतिवर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु यो संख्या दुई लाखभन्दा बढी रहेको दाबी गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागू पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन ।

नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पनि लागुपदार्थको दुर्व्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको जनाएको छ ।

अभिभावकले आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनु पर्नेमा ब्युरोको जोड छ । गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रम इकाइले पनि आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उनिहरुको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्नेमा इकाइले जोड दिएको छ । दुर्व्यसनीका लागि विभिन्न संघ संस्थाले हाल तीन सयभन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालनमा रहेका छन् ।

बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।

लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

Womui
Womui