बाढीपहिरोका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

35

छिनछिन खबर
काठमाडौं– सरकारले अविरल वर्षाका कारण घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले पीडितको उद्धार तथा राहत स्थानीय जनप्रतिनिधिमार्फत् गर्ने निर्णयसमेत गरेको छ ।


बैठकले ९ बुँदे निर्णय गरी तराई–मधेसलगायतका बाढी तथा पहिरो पीडितको उद्धारमा खटिएकालाई धन्यवाद ज्ञापनसमेत गरेको छ । सरकारले बाढी तथा पहिरोमा परी ५१ जनाको निधन, ३१ बेपत्ता, २८ घाइते, १० हजार ३ सय ८५ घरधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको प्रारम्भिक तथ्यांक पनि सार्वजनिक गरेको छ ।

‘प्रभावित क्षेत्रमा कुनै पनि रोग फैलिन नदिन औषधी उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने’ मन्त्रिपरिषद निर्णयमा भनिएको छ, ‘विपद प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायले पूर्ण सर्तकता अपनाउने र आवश्यक कदम चाल्ने।’ यस्तै, यातायात आवागमन सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरी सम्भव भएसम्मका कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

क्षतिको सम्पूर्ण विवरण तयार गरी पुनस्र्थापना र पुनर्निर्माणलगायतका आवश्यक विषयमा थप निर्णय गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

Womui
Womui