आर्थिक सहायताका नाममा राज्यकोष दोहन, ५ वर्षमा २ अर्ब स्वाहा

233

छिनछिन खबर
काठमाडौं–मापदण्ड मिचेर ‘आर्थिक सहायता’ शीर्षकमा औषधि उपचार खर्च भन्दै नेता, कार्यकर्ता, पहुँचवाला व्यक्ति तथा संस्थालाई राज्यकोषमा रहेको पैसा बाँड्ने क्रम जारी छ ।

दोस्रो संविधानसभा निर्वाचनपछि बनेका पाँचवटा सरकारले पाँच वर्षमा करिब २ अर्ब रुपैयाँ आर्थिक सहायताका नाममा राज्यकोषबाट वितरण गरेका छन् । ‘आर्थिक सहयोग पाउनेमा अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, पहुँचवाला व्यक्ति तथा संस्था हुने गरेका छन् । सामान्य जनता यो सहयोग लिन सिंहदरबार छिर्नैै सक्दैनन्,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रस्ताव सिधै मन्त्रीले मन्त्रिपरिषद् बैठकमा लानुहुन्छ । हामीलाई पनि निर्णय भएपछि थाहा हुन्छ ।’

सरकारले आर्थिक सहायताको नाममा वितरण गर्ने रकमको सबैभन्दा ठूलो अंश गृह मन्त्रालयमार्फत् बाँडदै आएको छ । सरकारले अन्य मन्त्रालयमार्फत् पनि आर्थिक सहायता शीर्षकमा रकम वितरण गर्छ, तर त्यो गृहको तुलनामा निकै कम हुने गरेको छ । मन्त्रिपरिषद् निर्णयमार्फत यस्तो रकम वितरण गरिँदै आएको छ । गृह मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार दोस्रो संविधानसभा पछि बनेका पाँच वटा सरकारले २०७० माघ देखि २०७६ जेठसम्मको अवधिमा कूल १ अर्ब ८८ करोड ६४ लाख ४२ हजार ७२ रुपैयाँ आर्थिक सहायताको नाममा वितरण गरेका छन् ।

यो अवधिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक, नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले एक पटक, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एकपटक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकपटक सरकारको नेतृत्व गरेका छन् ।

Womui
Womui