औषधी पसलको चरम लापरबाही : बिरामीलाई म्याद नाघेको औषधी बिक्री

286

नेपालगन्ज, असार २१-
नेपालगन्जको एक औषधी पसलले बिरामीलाई म्याद नाघेको औषधी बिक्री गरेको तथ्य सार्वजनिक भएको छ । भेरी अस्पताल परिसरमा सञ्चालित ‘सादा औषधी पसल’ले बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी २३ बर्षिया डोल्मा खत्रीलाई म्याद नाघेको औषधी बिक्री गरेको हो । म्याद नाघेको औषधी प्रयोग गर्दा आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पुगेको पीडितले बताएकी छन् । कानको प्वालभित्र सामान्य घाउ भएपछि डोल्मा बुधबार भेरी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिईन् । डाक्टरलाई चेक गराईसकेपछि उनी अस्पताल परिसरमै रहेको सादा औषधी पसलमा पुगेर औषधी खरिद गरिन् । ‘डाक्टरले लेखिदिएको खाने र कानमा हाल्ने औषधी किनेर घर फर्किए, त्यसैदिन साँझ सुत्नेबेलामा एकचोटी र भोलीपल्ट अर्को चोटी कानमा औषधी हाले, त्यसपछि त झन् कान नराम्ररी पाक्यो,’ उनले भनिन् ।


औषधी खाँदा र हाल्दा पनि घाउँ उल्टो बल्झिएपछि डोल्माको ध्यान औषधीको म्यादतिर गएको थियो । औषधीको बट्टा हेर्ने बित्तिकै उनले म्याद नाघेको पत्तो पाएकी थिईन् । उनले भनिन्, ‘कानमा हाल्ने औषधीको म्याद हेर्दा त चार महिना गुज्रिसकेको रहेछ, त्यसपछि म धेरै अत्तालिए ।’ डोल्माले किनेको ‘बेटनोर’ नामक उक्त औषधी सन् २०१७ अक्टोवरमा उत्पादन भएको र समाप्ती मिति सन् २०१९ मार्चमा उल्लेख छ । टिबी ७२२ ब्याच नम्बरको उक्त औषधीको म्याद ४ महिना गुज्रिसकेको प्रष्ट देखिन्छ । म्याद नाघेको औषधीले आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पुगेको थाहा पाएपछि डोल्मा शुक्रबार औषधी पसलमा आएर सोधपुछ गरिन् । औषधी पसलका कर्मचारीले म्याद नाघेको औषधी बिक्री भएको स्वीकार गरिसकेका छन् । पसलमा कार्यरत कर्मचारी झलक घर्तीले भुलबस म्याद नाघेको औषधी बेचिएको भन्दै गल्ती स्वीकार गरे । ‘औषधी पसलमा धेरै भिडभाड हुन्छ, त्यो बेलामा औषधीको म्याद हेर्न फुर्सद हुदैन,’ उनले भने ‘हामीले जहाँबाट औषधी खरिद गरेर ल्याउँछौं, म्याद हुँदासम्म राख्छौ, नत्र साईड लगाईहाल्छौं, म्याद नाघेको औषधी बेच्ने हाम्रो नियत होईन ।’ पसलले म्याद नाघेको उक्त औषधी नेपालगन्जस्थित युनाईटेड ड्रग सेन्टर नेपालगन्जबाट खरिद गरेर ल्याएको तथ्य पनि खुलेको छ । तर, उक्त औषधी कहिले खरिद गरिएको हो, त्यसबारेमा कर्मचारीले खुलाउन सकेनन् ।

औषधी पसलका सञ्चालक सन्तोष घर्तीले म्याद नाघेको औषधी जानी जानी बिक्री नगरिएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले टेलिफोनमा भने, ‘म्याद नाघेको औषधी बेच्नु गल्ती भयो, तर यो गल्तीलाई अब दोहोरिन दिदैनौ ।’ उपभोक्ता अधिकारकर्मी एवम् अधिवक्ता बसन्त गौतम म्याद नाघेको औषधी बिक्री गर्ने औषधी पसललाई कानुनी कारबाही गर्नुपर्ने बताउँछन् । ‘बद्मासी गर्ने औषधी पसललाई कानुनी कारबाही हुनुपर्छ, जिल्लामा सुस्ताएको अनुगमनलाई पनि क्रियाशिल बनाउनुपर्छ,’ उनले भने ।

पछिल्लो समयमा औषधी पसलले म्याद नाघेका औषधी बिरामीलाई बिक्री गरिरहँदा अनुगमन गर्ने निकाय मौन बसेको गौतमको गुनासो छ । भेरी अस्पलालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारी म्याद नाघेको औषधी बिक्री गर्ने औषधी पसललाई कारबाही गर्ने निकाय औषधी ब्यवस्था विभाग नेपालगन्जमै रहेको बताए । ‘कानुन त म्याद नाघेको औषधी बिक्री गर्न पाईदैन, त्यस्तो बिक्री गरेको पाइएमा कारबाही गर्ने निकाय औषधी ब्यवस्था विभाग हो, उसैले कारबाही प्रक्रिया अगाडी बढाउँछ,’ उनले भने ।

औषधी ऐन २०३५ मा म्याद नाघेको औषधी बिक्री वितरण गर्नेलाई जन्मकैद सम्मको सजाय हुने उल्लेख छ । औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी सुपरभाईजर यादव प्रसाद ढकालले ऐनको जुनसुकै दफाको बर्खिलाप हुने गरी म्याद नाघेको औषधी बेच्ने काम गरेमा कानुनी सजाय हुने बताएका छन् । उनका अनुसार ऐनको दफा ३० मा कसैलेपनि म्याद नाघेको औषधी बिक्री वितरण गर्न पाउँदैन । ‘यदी कसैले म्याद नाघेको औषधी बिक्री गर्छ र त्यसले ज्यानै खतरामा पुग्ने अवस्था भएमा जन्मकैद हुने ब्यवस्था छ, त्यस्तो औषधी सेवनले अंगभंग मात्रै भएको छ भने दशवर्ष कैद र जरिवाना तथा अन्य कुनै शरिरमा नोक्सानी गरेको छ भने पाँच वर्ष कैद र जरिवाना सम्म हुने ब्यवस्था ऐनले गरेको छ,’ उनले भने । म्याद नाघेको औषधी सेवन गरेर कुनै ब्यक्तिले औषधी ब्यवस्था विभागमै उजुरी गरेमा पनि कारबाही प्रक्रिया अगाडी बढाउन सकिने ढकालको भनाई छ ।
-नागरिक पश्चिमेलीबाट

Womui
Womui