‘घरेलु हिंसा र बाल विवाह’ न्युनिकरण गर्न घरबाटै अभियान थाल्न जोड

254

( बाँके ) राप्तीसोनारी, असार ११-
घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न घरबाटै अभियान थाल्नु पर्नेमा सम्वद्ध सरोकारवालाले जोड दिएका छन् । यसका लागि घर तथा समुदायमा ब्यापक रुपले सचेतना जगाउनुपर्ने उनीहरुको भनाई छ । समृद्धिका लागि सञ्चार नेपालको आयोजना तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ वडा कार्यालयको सहयोगमा बुधबारबाट भवानियापुरमा सञ्चालित चार दिने घरेलु हिंसा तथा बाल विवाह विरुद्ध सचेतना तालिम उद्घाटन शत्रमा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम् राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बाल विवाह र घरेलु हिंसाबीच अन्तर सम्बन्ध रहेको बताईन् । अहिले पनि गाउँ समाजमा घरेलु हिंसा र बाल विवाह कायमै रहेको उनले जोड दिईन् । ‘जसले उमेरमा परिपक्क नहुँदै बाल विवाह गर्छ, त्यसपछि घरभित्र घरेलु हिंसा उत्पन्न हुन्छ,’ न्यायिक समितिका संयोजक समेत रहेकी खत्रीले भनिन् ‘कलिलै उमेरमा विवाह हुन्छ, बच्चा बच्ची जन्मिसकेपछि श्रीमान र श्रीमतीबीच असझदारी बढ्न थाल्छ र त्यसले घरेलु हिंसाको रुप लिन्छ ।’ राप्तीसोनारी गाउँपालिकाको न्यायिक समितिमा घरेलु हिंसा सम्बन्धी उजुरी क्रमिक रुपमा आउने गरेको जानकारी दिदै उनले भनिन्, ‘हामीलाई प्राप्त भएका उजुरीमा केही पुरुषले आफु हिंसामा परेको भनि उजुरी दिएका छन्, भने कतिपय महिलाको पनि उजुरी आउने गरेको छ ।’ त्यसरी प्राप्त भएको उजुरीको विषयमा दुबै पक्षलाई बसालेर मेलमिलाप गराउन प्रयास गर्ने र दुबै पक्षले मेलमिलाप गर्न नचाहेमा जिल्ला अदालतमा पठाउने गरेको उपाध्यक्ष खत्रीले बताईन् ।

घरेलु हिंसा सहेर नबस्न उनले सबैलाई आग्रह गरिन् । ‘हिंसा सहेर बस्ने होईन, आफुमाथी भएको अन्याय विरुद्ध बरु लड्ने हो,’ उनले भनिन् । विशेषगरी दाईजोको विषयमा महिलामाथी घरेलु हिंसा भईरहेको बताईन् । समाजमा ब्याप्त रहेको बाल विवाह रोकथाम गर्ने दायित्व घर परिवार तथा समाजका सचेत वर्गको भएको प्रमुख अतिथी खत्रीको भनाई छ । कार्यक्रमका विशिष्ट अतिथी एवम् वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले घरेलु हिंसा र बाल विवाह न्युनिकरण गर्न सबैले हातेमालो गर्नुपर्ने बताए । ‘घरेलु हिंसा र बाल विवाह विरुद्ध घरबाटै जाग्नुपर्छ,’ उनले भने ‘घरभित्र हुने हिंसालाई लुकाएर राख्नु हुदैन ।’ बाल विवाह न्युनिकरण गर्न बाल क्लब र घरेलु हिंसा विरुद्ध महिला स्वयं जागरुक हुनुपर्ने वडाध्यक्ष थारुको भनाई छ । समाजसेवी एवम् पुर्व गाविस अध्यक्ष तुलसीराम थारुले बाल विवाह र घरेलु हिंसा समाजको घृणित कार्य भएको टिप्पणी गरे । समाजमा बाल विवाह तथा घरेलु हिंसा हुनुको धेरै कारण भएको उनले जोड दिए ।

सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले घरेलु हिंसा र बाल विवाह विरुद्ध सचेतनासँगै कानुनी कारबाही थाल्नुपर्ने बताए । समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष अर्जुन ओलीले घरेलु हिंसा र बाल विवाहले समाजलाई समृद्धिको दिशामा आगाडी बढाउन चुनौती दिइरहेको भन्दै समाजका सबै वर्ग सचेत भएर यसको रोकथाम गर्न जरुरी रहेको बताए । ‘समाजका सबै सचेत भएमा घरेलु हिंसा र बाल विवाह अन्त्य हुन सक्छ,’ उनले भने । संस्था स्थापना भएयता विभिन्न सामाजिक मुद्दामा सचेतनामुलक कार्यक्रम गर्दै आएको अध्यक्ष ओलीले जानकारी दिए ।

गाउँपालिका र वडा कार्यालयले प्राथमिकता दिएर घरेलु हिंसा र बाल विवाह न्युनिकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको सुझाव छ ।  तालिम उद्घाटन शत्रको सञ्चालन समृद्धिका लागि सञ्चार नेपालका कोषाध्यक्ष बिमला चौधरीले गरेकी थिईन् । उक्त तालिममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ मा रहेका समाजका अगुवा, शिक्षक, महिला, बाल क्लबका पदाधिकारी लगायत ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा घरेलु हिंसा र बाल विवाहका विविध विषयमा अधिवक्ता चित्रबहादुर केसी लगायतले प्रशिक्षण दिएका छन् ।

Womui
Womui