नेपालगन्ज उपमहानगरपालिकाको २ अर्ब २८ करोड बढी बजेट सार्वजनिक

118

नेपालगन्ज, असार १०-
नेपालगन्ज उपमहानगरपालिकाको पाँचौं नगर सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नेपालगन्जमा मंगलबार भएको सभामा नगर प्रमुख डा. धवल शम्शेर राणाले पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेश गरेको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ ।

नगर उपप्रमुख थापाले चालु खर्चतर्फ एक अर्ब २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व ४ करोड ३७ लाख ८१ हजार विनीयोजित बजेट प्रस्तुत गर्नु गरिन् । गत आर्थिक वर्ष २०७४/०७५ मा आन्तरिक श्रोततर्फ रु. १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु.१२ करोड ११ लाख ३७ हजार राजस्व असुल भई करिब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ ।

हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आ.व. को आन्तरिक श्रोतको आय अनुमान १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आ.व.मा एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु एक अर्ब ८ करोड समेत गरि कुल आय दुई अरब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।

नगर प्रमुख डा. राणाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गरे । दश वटा विविध विषय समावेश प्रस्तुत नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिइएको छ । वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवनमा ‘हाई राईज पार्किङ’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने पनि उल्लेख छ ।

पर्यटन प्रर्वद्धनमा जोड दिदै डा. राणाले नगरमा धार्मिक, सांस्कृतिक स्थानको संरक्षण, सम्वद्र्धनसहित नगरमा क्यासिनो सञ्चालनलाई पनि प्रोत्साहन गरेका छन् । सात तले बागेश्वरी कम्पलेक्स तीन वर्षभित्र बनाइसक्ने लक्ष्य सहित निर्माणको अन्तिम तयारीमा रहेको बसपार्क एक महिनाभित्र सन्चालन गर्ने पनि प्रस्तुत कार्यक्रममा समोवश गरिएको छ । फुटपाथ र फोहरको उचित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।

Womui
Womui