राष्ट्रिय बिच भलिबलको उपाधि सशस्त्र र सेनालाई एपिएफलाई

105

छिनछिन खबर
काठमाडौं– महिलातर्फ छैठौं तथा पुरुषतर्फको सातौं बिच भलिबलको उपाधि क्रमशः सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेका छन् ।

नेपाल भलिबल र कास्की जिल्ला संघको आयोजनामा पोखरास्थित फेवाताल किनारमा प्रतियोगिता आयोजना गरिएको थियो । फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरीको ‘ए’ टिमका नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१–१३ को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

त्यसैगरी पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामीमगरको जोडीलाई २१–१६ ,१८–२१ र १८–१६ को सेटमा पराजित गरी उपाधि चुम्न सफल बन्यो ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ट्रफी तथा प्रमाण प्राप्त गरे भने उपविजेताले नगद २० हजार ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए । त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडी तथा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमका मनिषा चौधरी र पुष्पा चौधरीको जाडीले तेस्रो स्थान हासिल गरी दुवै टिमले नगद १० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपिएफका विनिता बुढाथोकीले प्राप्त गरी नगद तीन÷तीन हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी पुरुष तर्फ १७ र महिला तर्फ १४ टोलीले सहभागिता जनाएका थिए ।

Womui
Womui