बाल विवाह न्युनिकरण गर्न राप्तीसोनारीमा बिद्यालय केन्द्रित अभियान

170

( बाँके ) राप्तीसोनारी, असार ५-
समाजमा बढ्दो बाल विवाह न्युनिकरण गर्न राप्तीसोनारी गाउँपालिकाले सामुदायिक बिद्यालय केन्द्रित नयाँ अभियान सुरु गरेको छ । बाल विवाह न्युनिकरणलाई विशेष प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले बुधबारबाट बिद्यालयका छात्र छात्रा, शिक्षक तथा अभिभावकसँग अन्तरक्रियात्मक अभियान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष लाहुराम थारुको नेतृत्वमा सामुदायिक बिद्यालयमै पुगेर छात्रछात्रा, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको छ ।

अभियानको पहिलो दिन बुधबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ३ मा रहेका माध्यामिक स्तरका दुई वटा बिद्यालयमा अन्तरक्रिया गरिएको हो । राप्तीसोनारी–३ स्थित सरस्वती माध्यामिक बिद्यालयमा गरिएको अन्तरक्रियामा छात्र छात्रा, शिक्षक तथा अभिभावकले बाल विवाह न्युनिकरण गर्न अभिभावक र छोराछोरीलाई सचेतना जगाउनुपर्नेमा जोड दिए । सरस्वती माध्यामिक बिद्यालयका बाल क्लब अध्यक्ष निश्चल भण्डारीले बाल विवाह न्युनिकरणका लागि अभिभावक र छोराछोरीलाई सचेतना जगाउनुपर्ने बताए । ‘पहिल्यै यस्तो अभियान सुरुवात गरिएको भए धेरै राम्रो हुन्थ्यो, तर ढिलै भएपनि राम्रै काम भएको छ,’ उनले भने ‘गाउँपालिकाले बाल विवाह न्युनिकरण गर्न अभियानलाई निरन्तरता दिनुपर्छ ।’

कक्षा १० की छात्रा दिपा अधिकारीले बाल विवाह नियन्त्रणमा सचेतनासँगै कानुनी रुपमा पनि कडाई गर्न आवश्यक रहेको बताईन् । ‘जसले वाल विवाह गर्छ, उनीहरुको विवाह दर्तालाई गाउँपालिकाले रोकिदिनुपर्छ, नियमले १८ वर्ष मुनिको उमेरमा विवाह गर्न मिल्दैन, तर पनि हाम्रो समाजमा विवाह भईरहेको छ,’ उनले भनिन् । बाल विवाह न्युनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिईन् ।
बिद्यालयका सहायक प्रधानाध्यापक पुष्पलाल चौधरीले गाउँघरमा शिक्षित र अशिक्षित बर्गलाई बाल विवाहबारे अझैपनि पर्याप्त जानकारी नभएको बताए । ‘हामीले त स्कुलमा बिद्यार्थीलाई बाल विवाहबारे जानकारी दिईरहेका छौं, तर गाउँघरमा सचेतना मुलक कार्यक्रम त्यति गरिएको छैन, बाल विवाहबारे कानुनी प्रावधान के छ, त्यसबारे जानकारी गराउन जरुरी छ,‘ उनले भने ‘गाउँघरमा अझैपनि १८ वर्षभन्दा मुनिका बाल बच्चाको विवाह भईरहेको पाईन्छ, यस्ता विवाहमा हामी आफैपनि उपस्थित भएका हुन्छौं, सानो उमेरमा विवाह गर्दा पर्ने नकारात्मक असरबारे चेतना दिन जरुरी छ र कानुनी कुराबारे पनि जानकारी दिनुपर्छ ।’

राप्तीसोनारी–२ अगैयास्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयकी छात्रा लुमा भण्डारीले बाल विवाह न्यूनिकरण गर्न अभिभावकको भुमिका महत्वपुर्ण हुने बताईन् । ‘अभिभावक अशिक्षित हुँदा बाल विवाह भएका हुन्छन्, त्यसकारण बाबु आमालाई शिक्षा दिनुपर्छ,’ उनले भनिन् ‘हाम्रा बुवाआमा शिक्षित हुनुभयो भने मात्र हामीले आफ्नो कर्तब्य निभाउन सक्छौं ।’ अर्की छात्रा एलिसा शाहीले सानो उमेरमा विवाह गर्नु हुदैन भन्ने कुरा थाहा पाउँदा पनि अभिभावकले विवाह गरिदिने गरेको बताईन् ।

नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश थापाले उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ती बढिरहेको बताए । ‘बाल विवाहले बिद्यार्थीको पढाई बिग्रिने कुरा त छदैछ, अर्कोतिर शारिरीक रुपमा कमजोर हुने हुँदा बालबालिका सचेत हुन जरुरी छ,’ उनले भने । गाउँपालिकाले सुरु गरेको बाल विवाह न्युनिकरण अभियानलाई निरन्तरता दिनुपर्ने थापाको सुझाव छ । नेरा माध्यामिक बिद्यालयको अन्तरक्रियालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रबहादुर माझीले बाल विवाह लगायत थुपै समस्या रहेको भन्दै बाल विवाह समाजको एउटा प्रमुख समस्या रहेको बताए । ‘बाल विवाह मात्र समस्या होईन, यसका पछाडी थुप्रै कुराहरु जोडिएका छन्,’ उनले भने ।

दुबै बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले सबैको सहकार्य र समन्वयबाट मात्र बाल विवाह न्यूनिकरण गर्न सम्भव भएको बताए । ‘विवाहलाई बहिष्कार गर्नुपर्छ भनेर हामीले गाउँपालिकाबाटै निर्णय गरेका छौं, हामीले सबै ठाउँमा लागु गर्न त सकेनौं, तर, केही न केही ठाउँमा बहिष्कार ग¥यौं,’ उनले भने ‘बाल विवाह न्यूनिकरण गर्नका निमित्त हामीले कार्यविधी नै बनाएका छौं । अहिले पनि बाल विवाह न्यूनिकरण गर्न गाउँपालिकाले प्रत्येक स्कुल–स्कुलमा यस्तो अभियान सुरु भएको छ ।’ बाल विवाह न्यूनिकरण गर्न सबै सरोकारवालासँग समन्वय गरेर गाउँपालिका अगाडी बढ्ने र आगामी आर्थिक वर्षमा आवश्यक बजेटको ब्यवस्था गरिने बताए ।

Womui
Womui