निर्माण कार्य रोकिएको गौतम बुद्ध विमानस्थललाई ७० करोड निकासा

197

छिनछिन खबर
काठमाडौं– भुक्तानी रोकिएको भन्दै निर्माण कार्य ठप्प भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अर्थ मन्त्रालयले थप ७० करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सोधान्तरण गरी ७० करोड रुपैयाँ बजेट व्यवस्था गरिदिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।


विमानस्थल बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्टसिभिल एभिएसन कन्सट्रक्सनले पछिल्लो समय बिल पेस गरेको लामो समयसम्म भुक्तानी नपाएको भन्दै धावनमार्ग कालोपत्रे, पेरिमिटर र ट्याक्सी वे कालोपत्रेको काम ठप्प पारेको थियो । आयोजनाका लागि यो वर्ष खर्च गर्न पाउनेगरी ५९ करोडमात्र बजेट विनियोजन भएको थियो ।

आयोजनाको धावनमार्ग, एप्रोन, टर्मिनल, ट्याक्सी वे निर्माण गर्ने कामका लागि बजेट ५९ करोडमात्र थियो । सो भन्दा बढी खर्च भएपछि पर्यटन मन्त्रालयले थप बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । विमानस्थल आयोजनाको इक्वुपमेन्ट राख्नका लागि ओपेक फण्डले १ अर्ब ७ करोड सहायता दिएको छ । यसबाट यो वर्षका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो । असार १५ सम्म निर्माण गरिसक्ने लक्ष्य पाएको उक्त ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाउँदा काम रोकिएको र भुक्तानी आउने निश्चित हुनेवित्तिकै काम सुरु हुने आयोजना कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनीले कामदारलाई समेत दिने ज्याला नपाएपछि काम रोक्न बाध्य भएको बताएको छ । धावनमार्ग, ट्याक्सवी वे, स्ट्रिप वे, पेरिमिटर, टर्मिनल, टावरजस्ता काम असार १५ मै सक्ने र आउने मंसिरदेखि व्यावसायिक उडान गर्ने सरकारी घोषणा रहेको छ । धावनमार्ग र ट्याक्सी वे कालोपत्रेको काम १० दिनजतिमा सकिने अनुमान गरिएको छ ।

Womui
Womui