पत्रकार खड्का र ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता सम्मान

43

काठमाडौं, बैशाख १०-
यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१८ पत्रकार रुद्र खड्का र अर्जुन ओलीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सिक्टा सिञ्चाइ आयोजनामा भएको अनियमितता सम्बन्धी खोजी रिपोर्टका लागि नागरिक दैनिकमा कार्यरत पत्रकार खड्का र ओलीलाई सम्मान प्रदान गरिएको निर्णायक समितिले जनाएको छ । यो सम्मानको राशी १ लाख १ रुपैयाँ रहेको छ ।

उक्त सम्मान आगामी २०७६ वैशाख १३ गते शुक्रबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा बारबरा एडम्सको जन्मजयन्तीका अवसरमा प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले प्रदान गर्नेछिन् । बारबरा फाउन्डेसनले सम्मानका लागि ५३ वटा आवेदन परेका थिए । तीमध्येबाट निर्णायक समितिको तीन चरणको छनौट प्रक्रियाबाट खड्का र ओली चयन भएका बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पत्रकार खड्काले काठमाडौंबाट र पत्रकार ओलीले नेपालगन्जबाट सिक्टा सिञ्चाई आयोजनामा भएको अनियमितताबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले फाउन्डेसनलाई ४५ वटा सिलसिलावद्ध रिपोर्ट पेश गरेका थिए ।

यसैगरी, फाउन्डेसनले निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टमध्ये संसद् सचिवालयमा भएको बेथिती र अनियमितता सम्बन्धी रिपोर्टका लागि पत्रकार मकर श्रेष्ठलाई प्रोत्साहन सम्मान प्रदान गरेको छ । यो सम्मानको राशी २५ हजार १ रुपैयाँ छ । बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१८ का लागि नेपालका वरिष्ठ पत्रकार अखिलेश उपाध्यायको संयोजकत्वमा एक निर्णायक समिति गठन गरिएको थियो ।

समितिको सदस्यहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, वरिष्ठ पत्रकार कसमस विश्वकर्मा र सदस्य–सचिवमा शरद अधिकारी थिए । पत्रकार तथा लेखिका बारबरा एडम्बसले नेपालमा खोजी पत्रकारिताको संस्थागत विकास गर्ने उद्देश्यले १० लाख रुपैयाँ अक्षय कोष खडा गरी बारबरा एडम्स खोजी पत्रकारिता सम्मानको स्थापना गरेकी थिइन् ।

Womui
Womui