सिक्टा सिँचाइ अनियमितताः मिलेमतोले नहर भत्कियो

111

छिनछिन खबर
काठमाडौं–सिक्टा सिँचाइ आयोजनाको तटबन्ध भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्री नै देखिएको छ । ठेकेदार कम्पनी र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण सामग्री प्रयोग भएका कारण आयोजनाको तटबन्ध भत्किएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको हो ।

सिक्टा सिँचाइको पश्चिमतर्फको मूल नहर भत्किएर भएको क्षति छानबिन गर्न ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिले पेस गरेको प्रतिवेदनमा आयोजनाका विभिन्न काममा त्रुटी भएको देखिएको थियो । आयोजनाको नहरको १७ देखि ३५ किलोमिटर खण्डमा केही स्थानमा तटबन्ध भत्केको, निर्मित सबैजसो ’एक्विडक्ट’का ’विङ वाल’ हरुको लम्बाइ र उचाई कम भई पानी लिकेज भएको, नहरको वेड फुटेको, सर्भिस रोड भत्किनुका साथै खाल्डाखुल्डी परेको, नहरको स्लोप फुटेको र नहर लाइनिङ गर्न प्रयोग गरिएका स्ल्याबमा क्षति भएको देखिएको थियो ।

नहर निर्माण गर्दा प्रयोग गरिएको माटोलगायतका निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने कर्तव्य परामर्शदाता, निर्माण व्यवसायी र आयोजना प्रमुखको भएपनि उनीहरुले मिलेमतो गरी परीक्षण नगरेका कारण बाँध भत्किएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नहरको सो खण्डको हस्तान्तरण पश्चात् निर्माण व्यवसायीले त्रुटी सच्चाउने अवधिमा गर्नुपर्ने ६६ काम समेत गरेको देखिँदैन ।

‘सुरुको त्रुटी सच्याउने अवधि १ वर्ष्भित्र निर्माण व्यवसायीले त्रुटी नसच्याएको र त्रुटी सच्याउने अवधिसमेत थप गरेको देखिएन,’प्रतिवेदनमा भनिएको छ । ‘नक्साअनुसार काम भए, नभएको परीक्षण गर्न गठित तीन समितिले काम नगरेको, आयोजना प्रमुखको पटकपटक सरुवा भई योजना कार्यान्वयनमा प्रभावकारी नभएको र पुराना ठेक्काको कार्यान्वयनमा प्रभावकारिता ल्याउनुको सट्टा थप नयाँ ठेक्का लगाएको देखियो। सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायी, आयोजना प्रमुख र परामर्शदातालाई जिम्मेवार बनाउनुपर्दछ,’ महालेखाको ५६ औं प्रतिवेदनमा उल्लेख छ ।

Womui
Womui