तीन प्रदेशका प्रमुख सचिव फेरिए

142

छिनछिन खबर
काठमाडौं–संघीय सरकारले तीन प्रदेशका प्रमुख सचिव फेरेको छ । संघीय सरकार मन्त्रिपरिषद्ले गण्डकी, कर्णाली र प्रदेश १ का प्रमुख सचिव फेरेको हो । सरकारले प्रदेश ४ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेर सचिव बनाएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयमा सचिव रहेका चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा केवल भण्डारीलाई नियुक्त गरिएको छ । यसअघि कर्णाली प्रदेशका प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको छ । यसअघि कामपाको प्रमुख प्रशासकीय अधिकृत रहेका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश १ को प्रमुखमा खाली रहेको सचिव पदमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कामु बनाएर पठाउने निर्णय सरकारले गरेको छ । यसबाहेक सरकारले प्रधानमन्त्री कार्यालयमा समेत दुई सचिव थप गरेको छ । सरकारले अतिरिक्त समूहमा सचिव रहेका डा. हरि पौडेल र राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

Womui
Womui