नेकपामा जिल्ला नेतृत्व चयनमा सकस, माधब नेपालले बुझाए आफ्नो समूहको सूची

42

छिनछिन खबर
काठमाडौं–तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि बनेको नेकपामा जिम्मेवारी बाँडफाट सकस बन्दै गएका छन् । जसले गर्दा गुट, उपगुट बन्ने क्रम जारी छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो गुट बलियो बनाउने गरी जिल्ला नेतृत्व चयन गर्ने प्रयास गरेपछि अर्का नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि आफ्नो समूहको सूची तयार पारेको छ । सोही सूची अध्यक्षद्वयलाई पेश गरिएको छ । अध्यक्षद्वय केपी ओलीले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची तयार पारेको भन्दै नेपाल पक्षले बेग्लै सूची बनाएको हो ।

स्रोतका अनुसार प्रचण्डसँगको सहमतिमा जिल्ला नेतृत्वको सूची अध्यक्ष ओलीले पनि बनाइसकेका छन् । त्यसलाई छिट्टै सर्कुलरमार्फत सार्वजनिक गर्ने ओलीको तयारी थाहा पाएपछि नेपाल समूह आक्रोशित थिए । त्यसपछि उनीहरुले आफ्नो समूहको छुट्टै छलफल बसेर नयाँ सूची तयार पारेको स्रोतले जनाएको छ । गत ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग जिल्ला नेतृत्वको सूची टुंग्याउन परामर्श गरेका थिए । अध्यक्ष प्रचण्डले नेपाललाई पनि सँगै राखेर सूची अन्तिम टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका थिए । ओलीले प्रचण्डको प्रस्ताव अस्विकार गरेपछि त्यसयता ओली–नेपालबीच औपचारिक संवाद टुटेको छ ।

जवाफमा ओलीले नेपाललाई राख्ने हो भने छलफलमा नेता ईश्वर पोखरेललाई पनि समावेश गर्नुपर्ने बताएपछि जिल्ला नेतृत्वको सूचीमाथि सचिवालय बैठकमा छलफल गर्ने भन्दै प्रचण्ड, खनाल, नेपाल र गौतम बालुवाटारबाट बाहिरिएका थिए । त्यसयता ओलीले अध्यक्ष प्रचण्डसँग पटक–पटक छलफल गरेपनि नेपालसँग संवाद गरेका छैनन् ।

Womui
Womui