महासंघ बाँकेको किर्ते हस्ताक्षर प्रकरणको छानविन गर्न माग

93

काठमाडौं, चैत ५-
नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारीले किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेको भन्दै छानविनका लागि महासंघ केन्द्रिय नेतृत्वसँग माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले मिडियाका लागि छुट्याएको १० लाख बजेट मध्येबाट महासंघले गरेको कार्यक्रममा किर्ते हस्ताक्षर गरी रकम अनियमितता गरेको यसअघि विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । आर्थिक बर्ष ७४÷७५ मा बिनियोजित सो बजेटबाट पत्रकार महासंघले गत जेठ ३० गते नेपालगन्जमा आयोजना गरेको ‘मिडिया दीगो विकास र यसका चुनौति बिषयक’ अन्तरक्रियामा सहभागी नभएका पत्रकारको समेत किर्ते हस्ताक्षर गरेर महासंघका पदाधिकारीहरुले आर्थिक अनियमितता गरेको तथ्य बाहिर आएको हो ।

उक्त प्रकरणको छानविन गर्न माग गर्दै पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहेका बाँके शाखाका पुर्व सहसचिव जयसिंह केसीले मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा पत्रकारहरुको किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरुले बुझेको समाचार प्रकाशित भएपछि आफुले छानविनको मागसहित ध्यानाकर्षण पत्र बुझाएको केसीले जानकारी दिए ।

सो क्रममा अध्यक्ष आचार्यले छानविन समिति गठन गरेर छानविन गरिने बताएको उनले बताए । महासंघ बाँके शाखाले पेश गरेको भरपाईमा पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल, पुर्वअध्यक्ष धर्मेन्द्र झाँसहित बाँकेका अधिकांस पत्रकारको हस्ताक्षर किर्ते गरिएको छ ।

हस्ताक्षरको विषयमा पोखरेल र झाँसहित अधिकांस पत्रकारले आपत्ती जनाइसकेका छन् । यस विषयमा महासंघ बाँकेका अध्यक्ष थारुले महासंघको काम समन्वय गर्ने मात्रै भएको जिकिर गर्दै उपमहानगरपालिकाको जिम्मेवारी भएको बताएका छन् । किर्ते हस्ताक्षरका विषयमा भने उनले कुनै कुरा खुलाएका छैनन् । महासंघले जारी गरेको विज्ञप्तीमा समेत किर्ते हस्ताक्षर प्रकरणबारे प्रष्ट्याएको छैन ।

Womui
Womui